समृद्ध नेपाल बनाउन सकिएन भने गणतन्त्रको अर्थ रहन्न : अध्यक्ष तिमिल्सिना

सूर्यप्रकाश कँडेल

आइतबार, १२ माघ २०७६, १८ : २३
समृद्ध नेपाल बनाउन सकिएन भने गणतन्त्रको अर्थ रहन्न : अध्यक्ष तिमिल्सिना

चितवन । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समृद्ध नेपाल निर्माण गर्न नसके गणतन्त्र अर्थहीन हुने बताएका छन् । नारायणगढमा रहेको बालकुमारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव एवं ५४ औँ वार्षिकोत्सव समारोहलाई आइतबार सम्बोधन गर्दै उनले यस्तो विचार व्यक्त गरेका हुन् ।

"समृद्ध नेपाल बनाउन सकिएन भने गणतन्त्रको के अर्थ ?" उनले भने, "मरुभूमिका देशले प्रगति गरे, तर प्राकृतिक स्रोतसाधनले भरिपूर्ण हाम्रो देशले प्रगति गर्न सकेन । संविधान कार्यान्वयन गर्दै जाँदा अब जनताको मुहारमा हाँसो चाहिएको छ । देशमा समृद्धि चाहिएको छ ।"

जनता खुसी नहुँदा विद्रोह जन्मने बताउँदै अध्यक्ष तिमिल्सिनाले अब सामाजिक न्यायसहित जनतालाई खुसी बनाउनु पर्ने विचार व्यक्त गरे । पढ्नुको अर्थ जागिर खानुमात्र नभएको भन्दै उनले पढेलेखेका मानिस उद्यमी बनेमात्र देशको विकास हुने धारणा सुनाए । राजनीति गर्ने सबैले पद होइन देशको उन्नति र समृद्धि सोचेर काम गर्नु पर्ने उनको भनाइ थियो ।

"आजसम्म हामी माग्ने भयौँ, अब हामीले यो देशलाई दिने हैसियतमा लैजानु पर्छ" उनले भने, "नेपाललाई माग्नेहरुको देशबाट दिनेहरुको देशमा लैजानु नै अबको राजनीतिक लक्ष्य हो । विद्यालय र विश्वविद्यालयले सबै क्षेत्रमा बिक्न सक्ने र टिक्न सक्ने जनशक्ति उत्पादन गर्नु नै आजको आवश्यकता भएको उनले बताए । हिजो एसएलसी पास गरेका उत्कृष्ट विद्यार्थीले सजिलै रोजगारी पाउने गरेको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले भने, अहिले मास्टर्स डिग्री गरेका बेरोजगार हुनु परेको छ । डाक्टर र इञ्जीनीयरले समेत काम नपाउने अवस्था भइसक्यो । यसरी नै बेरोजगार उत्पादन गर्ने हो भने शिक्षण संस्थाहरुको गुणस्तरमाथि प्रश्न उठ्छ ।"

राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावलले केही सरकारी विद्यालयहरुले स्वर्णिम इतिहास रचेको बताइन् । उनले कतिपय सरकारी विद्यालयमा निजी विद्यालय छाडेर विद्यार्थी भर्ना हुने गरेको उदाहरण पेश गरिन् । पूर्वमन्त्री केशवलाल श्रेष्ठले शिक्षण संस्थाहरुले दक्ष जनशक्ति उत्पादन गर्नु पर्ने बताए ।

स्वर्ण महोत्सव मूल समारोह समितिका अध्यक्ष देशीराम प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक, कर्मचारी, चन्दादाता, अक्षयकोषका दाता लगायतलाई सम्मान गरिएको थियो । २०२२ सालमा स्थापना भएको बालकुमारी माध्यमिक विद्यालयले विविध कारणवश चार वर्षपछि अहिले स्वर्ण महोत्सव मनाएको छ ।

भुतपूर्व विद्यार्थीको अभुतपूर्व सहयोग

स्वर्ण महोत्सव सम्पन्न गर्न बालकुमारी माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरुले अभुतपूर्व सहयोग गरेका छन् । विद्यालयको स्वर्णद्वार एसएलसीको विभिन्न ब्याचका विद्यार्थीहरुको आर्थिक सहयोगबाट निर्माण गरिएको छ । आइतबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वर्णद्वारको उद्घाटन गरे ।

स्वर्ण महोत्सव सम्पन्न गर्न एक हजार ५४ सदस्यीय मूल समारोह समिति, ३५ सदस्यीय उपसमिति र १७ सदस्यीय सचिवालय समिति गठन गरिएको थियो । स्वर्ण महोत्सवका अवसरमा विभिन्न मितिमा हात्तीसहितको शोभायात्रा, पूर्वविद्यार्थी एवं शिक्षक पुनर्मिलन, रक्तदान, शैक्षिक गुणस्तर सम्बन्धी अन्तरक्रिया लगायतका कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस