काठमाडौं । विश्वभरि अहिले ईन्टरनेट, ईमेलमा सबैको सहज पहुंच छ । ईन्टरनेटको प्रयोग कतिपयले सकारात्मक फाईदाका लागि प्रयोग गर्ने गरेका छन् भने कतिले त्यसबाट नकारात्मक फाईदा पनि लिने गरेका छन् । अहिले संसारभर ४.५ अर्ब मानिसले इन्टरनेट चलाउँछन् ।
तीमध्ये ७० प्रतिशत १५ देखि २४ वर्षका छन् । प्रत्येक क्षण अनलाइनमा साढे ७ लाख यौनदुराचारी बालबालिकालाई ढुकेर बस्ने गरेका राष्ट्रसंघको अनुमान छ । प्रश्न आउँछ, एक्लै इन्टरनेट चलाउने हाम्रा बालबालिका कति सुरक्षित छन् त ? तपाईं आठ वर्षे छोरालाई मनखुसी मोटरसाइकल चलाउन पक्कै भन्नुहुन्न किनकि त्यसका लागि निश्चित सीप चाहिन्छ । जोखिमसँग जुध्ने कला चाहिन्छ, जुन आठ वर्षेले सिकिसकेको हुँदैन । त्यस्तै, इन्टरनेटमा राम्रारनराम्रा मान्छे र सामग्री चिन्ने परिपक्वता बालबालिकामा हुँदैन तापनि हामी तिनलाई इन्टरनेट भएको फोन निर्धक्क दिन्छौँ । उमेरै नपुग्दै फेसबुक अकाउन्ट खोलिदिन्छौँ ।
तिनीहरू बिनानिगरानी ब्राउजिङ, च्याट र लाइभ गर्न थाल्छन् । दुर्नियत भएका व्यक्तिसँग नजिकिएको पनि अभिभावकलाई थाहा हुँदैन । भीमकाय समस्या स् साइबर कानुन बलियो भएका देशमा पनि बालबालिकालाई अनलाइनमा अपरिचित मान्छेले फकाउने प्रवृत्ति अकासिएको छ । प्रत्येक तीनमा एक बच्चाले यौनजन्य एसएमएस, तस्बिर वा भिडियो पठाएका वा पाएका छन् । कलिलो उमेरमा अनलाइनमै प्रेमसम्बन्ध गाँसेर आफ्नो नग्न तस्बिर वा भिडियो पठाउँदा पीडित भएका पनि धेरै छन् ।
यस्ता सामग्री इन्टरनेटमा गएपछि कसरी लाखौँ ठाउँमा सेयर हुन्छ र मेटाउन गाह्रो हुन्छ भन्ने चेत सानो उमेरमा हुँदैन । अपराधीले यस्ता तस्बिर वा भिडियो सार्वजनिक गरिदिने धम्की दिएर फाइदा उठाउँछन् । किशोर–किशोरीलाई यौनदुराचार गरिएका वा नग्न देखाइएका करिब ८५ लाख सामग्री इन्टरनेटमा रहेको इन्होपले फेला पारेको छ । केही वर्षअघि मात्रै मेक्सिकोमा पक्राउ परेका एकै क्यानडियाली दुराचारीसँग बालबालिकाका ४० लाख यौनिक तस्बिर थिए ।
पत्याउन गाह्रो होला, यस्तो बालयौन बजारको अनधिकृत अर्थतन्त्र लाखौँ अमेरिकी डलर बराबरको छ । पाँच वर्षमुनिकै भए पनि बालबालिकाका यौन तस्बिर वा भिडियो किन्ने–बेच्नेको जमात ठूलो छ । केही अपराधीको यौन मनोविज्ञान नै यसरी बनेको हुन्छ । तिनलाई बच्चासँगै यौन–आकर्षण हुन्छ । यस्ता अपराधी पैसा तिरेरै लाइभ बाल यौन शोषण हेर्छन् । बिटकोइन र डार्ककोइनजस्ता अनलाइन मुद्रा तिरेर परिचय गुमनाम राखी यस्ता सामग्रीको कारोबार हुन्छ ।
नेपालमा सन् २००६ सम्म इन्टरनेट प्रयोग गर्नेको संख्या ३ लाख थियो । त्यसको १३ वर्षमै त्यो संख्या १ करोड ६२ लाख पुगिसक्यो । फेसबुक अकाउन्टको संख्या त पोहोर सालै ८७ लाख पुगिसक्यो । किशोर–किशोरी इन्टरनेट र सामाजिक सञ्जाल धेरै चलाउँछन् । तर तिनलाई निगरानी गर्नुपर्ने बाबुआमाको प्रविधिसँगको अभ्यस्तता (डिजिटल लिटरेसी) चाहिँ टिठलाग्दो छ ।
साइबर अपराधको निशानामा बालबालिका
इन्टरनेट धेरै चलाउने मुलुकमा अधिकांश किशोर–किशोरीले नग्न तस्बिर वा भिडियो पठाउँदा स्न्यापच्याट भन्ने फोन एप्लिकेसन चलाएका थिए । जस्तै, अस्ट्रेलियामा अनलाइनमा नग्न तस्बिर पठाउने, पाउने वा सेयर गर्नेमध्ये ६४ प्रतिशत बालबालिकाले स्न्यापच्याट प्रयोग गरेका थिए । स्न्यापच्याट नेपाली किशोर–किशोरीले पनि धेरै चलाउँछन् । तर यसको उपयोगिता, गोपनीयता र जोखिमबारे राम्ररी बुझेका नेपाली अभिभावक बिरलै होलान् । यसरी नै इन्स्टाग्राम, ह्वाट्सएप र स्काइपमा अन्जान व्यक्तिलाई बालबालिकाले पठाएका आपत्तिजनक तस्बिर र भिडियोको दुरुपयोग भएको पाइएको छ ।
असर कस्तो पर्छ ?
धेरै वेबसाइटमा बारम्बार आफ्ना नग्न तस्बिर र भिडियो आउँदा पीडितले पटक–पटक अपमानित अनुभव गर्छन् । करोडौँको अनलाइन व्यवसाय चलाउने अपराधीलाई भने यसले झन्–झन् धनी बनाउँछ । अनलाइन यौनदुराचारबाट पीडित बच्चाहरू डिप्रेसनको सिकार बनेका छन् । तिनले आफ्नै हातखुट्टा काट्ने तथा त्रास, अपमान र नैराश्यले जेलेको अनुभव गर्छन् । पीडित अधिकांश किशोर–किशोरीलाई आत्महत्याको सोच आएको अनुसन्धानले देखाएका छन् । इन्टरनेटमा आफ्ना नग्न तस्बिर आएपछि कतिपयलाई जागिर पाउन मुस्किल भएको छ । यो भयावहबाट जोगिने उपाय नै नभएकाचाहिँ होइनन् ।
रोक्ने कसरी ?
पहिला कानुन नै सुधारौँ । आईसीएमईसीको भर्खरैको प्रतिवेदनअनुसार बालयौन अपराधसम्बन्धी सबैभन्दा कमजोर कानुन भएका ९ देशमा नेपाल परेको छ । बालबालिकाका नग्न, अर्धनग्न वा निजी तस्बिर तिनका अभिभावकको सहमतिबेगर सार्वजनिक गरिए कडा कारबाही गर्ने कानुन हुनुपर्छ ।
सरकार र आईटी कम्पनीहरूबीच साझेदारी दोस्रो आवश्यकता हो । तस्बिर र भिडियोको धमाधम डिजिटल फरेन्सिक एनालीसीस (तस्बिरको सिर्जना, उद्गम र प्रसार पत्ता लगाउन गरिने विश्लेषण) र इमेज रिकग्निसन (तस्बिरको रङ, आकार र त्यसमा भएका वस्तुको विश्लेषण) का लागि प्रहरीको स्रोतले मात्रै पुग्दैन । सामाजिक सञ्जाल वा आईटी कम्पनीसँग प्रहरीले सहकार्य गर्ने हो भने त्यस्ता धेरै सामग्री तत्काल इन्टरनेटबाट झिक्न मिल्छ । युट्युब र फेसबुकजस्ता कम्पनीले त सकेसम्म तिनलाई अपलोड हुन नै दिँदैनन् । तर धेरैजसो कृत्रिम विद्वता (आर्टि्फिसियल इन्टेलिजेन्स) आधारित प्रविधिले अंग्रेजी भाषा आधारित सामग्री मात्रै विश्लेषण गर्न सक्छन् । हाम्रो समस्या समाधान गर्न हामी नै लाग्नुपर्छ ।
इन्टरनेट सेवाप्रदायक, सामाजिक सञ्जाल र वेबसाइट सञ्चालकलाई नियमन गर्ने उद्योग सञ्चालन निर्दे्शिका बनाउनु अर्को खाँचो हो । जस्तै, फेसबुकको नीतिअनुसार १३ वर्ष नपुगी कसैले अकाउन्ट खोल्न पाउँदैन । तर हामी आफ्ना छोराछोरीको अकाउन्ट त लगभग जन्मँदै खोल्दिन्छौँ ।
यसलाई रोक्न सामाजिक सञ्जाल कम्पनीलाई अकाउन्ट होल्डरको कडा निगरानी गर्न लगाउने नियम बनाउन सकिन्छ । १३ वर्ष पुगेका तर १८ नकटेका प्रयोगकर्तालाई सकेसम्म नचिनेको मान्छेको फ्रेन्ड रिक्वेस्ट नआउने वा पब्लिक सर्चमा तिनको प्रोफाइल नदेखिने बनाउन यस्ता कम्पनीलाई दबाब दिन सकिन्छ ।
बालबालिकाको आपत्तिजनक तस्बिर वा भिडियो भेटिए इन्टरनेट सेवाप्रदायकले तत्काल प्रहरीलाई खबर गर्नुपर्ने नियम पनि लगाउन सकिन्छ । धेरै मुलुकमा यस्तो नियम छ । स्वास्थ्यकर्मी वा चाइल्डकेयरमा काम गर्ने व्यक्ति र फोटोरभिडियो स्टुडियो आदिलाई पनि यस्तो सूचना दिन अनिवार्य गराउने र नगरेको भेटिए कारबाही गराउने नियम बनाउन जरुरी भइसकेको छ ।
इन्टरनेटमा हुने दुराचार एक मुलुकभित्र मात्रै हुँदैन । अपराधीहरू संसारका कुना–कुनामा हुन्छन् । प्रहरीले अन्तर्रा्ष्ट्रिय सहकार्य जति राम्रो गर्न सक्यो, अपराध समाधान गर्ने सम्भावना उति बढी हुन्छ । यसमा इन्टरपोल पनि सक्रिय छ । इन्टरपोलसँग मात्रै बालयौन दुराचार गरिएका १५ लाख भिडियो र तस्बिरको डाटाबेस छ । (नेपाल साप्ताहिक)
प्रतिक्रिया दिनुहोस