‘दानको रकमबाट विलासी गाडी’

पत्रपत्रिकाबाट

आइतबार, १२ माघ २०७६, ०७ : ०५
‘दानको रकमबाट विलासी गाडी’

लुम्बिनी । लुम्बिनी विकास कोषले दानबाट विलासी गाडी खरिद गर्न लागेका विषयमा सम्बन्धित मन्त्रालयले छानबिन थालेको छ । त्यसका लागि संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।मन्त्रालयका कानुन उपसचिव राजन नेपालको संयोजकत्वमा चार सदस्यीय टोली गठन गरेको हो ।

उक्त समितिमा मन्त्रालयका लेखा उपसचिव गोपीचन्द्र भण्डारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक नलविक्रम थापा र पर्यटन विभागका सचिन्द्र यादव सदस्य रहेका छन् । स्थलगत अनुगमन, निरीक्षण र छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्रालयको सचिव स्तरको निर्णयअनुसार निर्देशन दिएको छ ।

दानबाट संकलित रकमले विलासी गाडी खरिद गर्न भइरहेको तयारी बारे समाचार प्रकाशित भएको थियो । त्यसपछि खरिदविरुद्ध अख्तियारमा बेनामी उजुरी परेको थियो । लुम्बिनी विकास कोष परिषद् सदस्य बैजनाथ साहनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गरी गाडी खरिद पक्रिया रद्द गर्न गत पुस २७ मा मन्त्री योगेश भट्टराईका ध्यानाकर्षण गराएका थिए । अख्तियारको पत्र र साहनीको ध्यानाकर्षणपछि मन्त्रालयले छानबिन थालेको जनाएको छ ।

कोषले दानबाट उपाध्यक्ष अवधेशकुमार त्रिपाठीका लागि १ करोड ५८ लाख मूल्य पर्ने गाडी खरिद गर्न लागेको छ । ‘यसले पवित्र र आध्यात्मिक ठाउँको विकासका लागि गरिने दानप्रति नै नकारात्मक धारणा बढ्यो,’ कोषका परिषद् सदस्य साहनीले भने, ‘यस्तो नकारात्मक सन्देश जाने काम भएकाले मन्त्रीकै पहलमा खरिद प्रक्रिया रोक्न आग्रह गरेको हुँ ।’

२४७७ सीसीको जापानको मित्सुबिसी पेजेरो स्पट वातानुकूलित, अत्याधुनिक प्रविधि र सुविधायुक्त गाडी किन्ने प्रक्रिया अघि बढेको छ । कोष सदस्य अम्रिका कोहारले विवाद नआउने गरी गाडी खरिद गर्नु पर्ने बताए । ‘लुम्बिनीको आस्था र गरिमा बचाउनु पर्छ,’ उनले भने, ‘दान रकमको सही सदुपयोग गर्नु पर्छ ।’कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस