काठमाडौँ । भारतको मुम्बईबाट हैदरावादका लागि उडेको इन्डिया एयरलाइन्सको एक विमान २३ हजार फिटको उचाइमा रहेको अवस्थामा इन्जिन नै बन्द भएको समाचार प्रकाशमा आएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार राति उडान भरेको केही समयपछि अचानक इन्जिन बन्द भएको हो । विमानको इन्जिन २३ हजार फिटको उचाइमा विमान उडिरहेको समयमा अकस्मात बन्द भएपछि यात्रुहरुमा सबै खैलाबैला मच्चिएको थियो ।
इन्डिगोको ‘६ई–५३८४’ विमानको इन्जिनबाट केही आवाज आएपछि एक प्रकारको कम्पन भएको थियो । तत्कालै पाइलटले उक्त इन्जिनलाई बन्द गरेको बताइएको छ । एउटा इन्जिन बन्द भएपछि पाइलटले अर्को इन्जिनको मद्दतलाई विमानलाई नियन्त्रणमा राख्दै आपतकालीन अवतरणका लागि मुम्बई विमानस्थलमै फर्काएका थिए ।
विमानस्थल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार राति १ बजेर ३९ मिनेटमा उक्त विमानलाई मुम्बई विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो । अवतरणपछि विमानको प्राविधिक पक्षको अनुसन्धान गरेका एक अधिकारीलाई उद्धृत गर्दै नवभारत टाइम्स अखबारले जनाएअनुसार इन्जिन नम्बर १ को ‘लो प्रेसर टर्बाइन नम्बर ३’मा खराबी पाइएको छ ।
यसले ४००६ घण्टा उडान भरिसकेको बताइन्छ । उक्त इन्जिनमा खराबी भएपछि अर्को ‘मोडिफाइड’ इन्जिनको मद्दतमा विमानलाई सुरक्षित रुपमा अवतरण गराइएको थियो, जसले ११९८ घण्टासम्म मात्र उडान भरेको थियो । उक्त विमानमा ९५ जना यात्री सवार थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० माघ २०७६, १३ : २५
लेखकबाट थप