भीमदत्तनगर । कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरमा प्रथम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सोमबारदेखि शुरु भएको छ ।
“कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा विकास, समृद्ध ७ नम्बर प्रदेशको आधार” भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवको उद्घाटन प्रदेश नं ७ का प्रदेश प्रमुख मोहनराज मल्लले गर्नुभयो ।
दश दिनसम्म चल्ने महोत्सवमा विभिन्न वस्तुभाउ, अटो मोबाइल, स्थानीय परिकार, यहाँको कृषि प्रदर्शनी समेत गरी १५० स्टल राखिएका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सवमा बोल्दै प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश नं ७ लाई हरेक दृष्टिकोणले समृद्ध बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले प्रदेशको विकास र समृद्धिका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन, स्वदेशी उत्पादनको प्रचारप्रसारमा टेवा पुग्ने उहाँको भनाइ थियो ।
त्यसैगरी, महोत्सव उद्घाटन समारोहमा बोल्दै प्रतिनिधिसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र)का नेता लेखराज भट्टले आगामी पाँच वर्षभित्र प्रदेश नं ७ मा औद्योगिक विकास हुने बताउनुभयो । “औद्योगिक विकासका लागि कामको शुरुवात भइसकेको छ,” नेता भट्टले भन्नुभयो– “प्रदेश समृद्ध बनाउन साधनस्रोतको परिचालन मुख्य चुनौती रहेको छ ।”
फागुन ९ गतेसम्म सञ्चालन हुने महोत्सवले स्थानीय उद्योग प्रवद्र्धन गर्न सघाउ पु¥याउने, कृषि व्यवसायलाई टेवा पु¥याउने, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रमा खोजीको अवसर सिर्जना गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले बताउनुभयो ।
केही दिनअघि कञ्चनपुर उद्योग वाणिज्य संघकै आयोजनामा भारतको देहरादुनमा समेत अन्तरराष्ट्रिय व्यापार मेलासमेत सम्पन्न भएको थियो । कञ्चनपुर उद्योग वाणिज्य संघले डेढ दशकदेखि यहाँ महोत्सव आयोजना गर्दै आएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस