चलचित्र ‘कान्छी’ युनिट देश दौडाहमा

सोमबार, २९ माघ २०७४, १२ : २५

चितवन । नायिका श्वेता खड्काले चितवन आफ्नो माइतीघर भएको बताएकी छिन् । पति श्रीकृष्णको निधन पछि नेपाली फिल्म क्षेत्रमा कम ब्याक गरेकी खड्काले कान्छी चलचित्र मार्फत दर्शक माझ आएकी हुन् । चलचित्र कान्छी फागुन ४ गते नेपाल भर प्रर्दशनमा आउदैछ ।

कान्छीको निर्माण टोली आईतबार प्रचार प्रसारको लागि चितवन आई पुगेको छ । ‘कान्छी’प्रचारको लागि निर्माता तथा अभिनेत्री श्वेता खड्कासँगै भिनेता दयाहाङ राई चितवन आइपुगेका थिए । चितवनमा पत्रकारसँग कुराकानी गर्दै खड्काले आफ्नो अभिनय यात्रा चितवनबाटै सुरु भएकाले आफूलाई यो ठाउँ माइती जस्तै लाग्ने बताएकी थिइन् ।

‘मेरो फिल्मको यात्रा नै चितवनबाट सुरु भएको थियो, त्यसैले म यो ठाउँलाई माइतीघर भन्न रुचाउँछु,’ श्वेताले भनिन् । श्वेताको पहिलो फिल्म ‘कहाँ भेटिएला’को छायाँकन चितवनमा गरिएको थियो । स्व.शिव रेग्मी निर्दे्शित उक्त फिल्ममा श्वेताको अपोजिटमा स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठ थिए । स्व.निर्देशक रेग्मी पत्नी ज्ञानु रेग्मीलाई पनि चितवन आउँदा श्वेताले सम्झिइन् । ‘श्वेताको कान्छी धेरै सफल होस् । यसैगरी हिम्मत गरेर अगाडि बढ्नु,’ ज्ञानुले भनिन् ।

अभिनेता दयाले ‘कान्छी’ समसामयिक कथावस्तुमा राम्रो फिल्म बनेको बताए । उनले भने, ‘सानो सपना र ठूलो दुःख भोगाइ नै कान्छी हो । यो पुरुषवादी सोचको कान्छी होइन, ममतामयी कान्छी हो,’ दयाले भने । आकाश अधिकारी निर्देशित फिल्म युनिटसँग काम गर्दा रमाइलो र सजिलो लागेको अनुभव पनि दयाले सुनाए । यम थापाको स्क्रिप्ट रहेको फिल्ममा श्वेता र दयासँगै वरिष्ठ कलाकार नीर शाह, नायिका अनु शाहसँगै कलाकारहरू कामेश्वर चौरसिया, आशान्त शर्मा, भूमिका श्रेष्ठलगायतको अभिनय रहेको छ ।

राजनराज सिवाकोटीको संगीत रहेको ‘कान्छी’को ‘चरी चट्ट परी’ बोलको गीत हिट भैसकेको छ भने अर्जुन पोखरेलको संगीत रहेको ‘ए कान्छी’ बोलको गीतले पनि दर्शक तथा श्रोताको मन जितिरहेको छ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस