नेपालको एसिया कप फाइनल खेल्ने सपना अपुरै

शुक्रबार, ०१ मंसिर २०७४, १४ : १७
नेपालको एसिया कप फाइनल खेल्ने  सपना अपुरै

भारत जस्तो बलियो टोलीमाथि ऐतिहासिक जीत हासिल गर्दै उच्च मनोबलका साथ एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा पुगेको नेपाल अफगानिस्तासँग ७ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । योसँगै प्रतियोगिताको फाइनलमा पुग्ने नेपालको सपना अधुरै बनेको छ । फेरि पनि नेपालको कमजोर ब्याटिङ नै हारको कारण बन्न पुग्यो ।

किनरारा ओभल मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १०४ रनको झिनो लक्ष्य अफगानिस्तानले मात्र २०।३ ओभरमा ३ विकेट गुमाउँदै सफलतापूर्वक पछ्याएको हो ।अफगानिस्तानलाई जीत दिलाउन रहामनुल्लाह गुरबाजले सर्वाधिक ७१ रन बनाए । उनले यस क्रममा ९ चौका र २ छक्का हिर्काए ।जीतका लागि १० रन आवश्यक हुँदा वर्षाका कारण खेल केही बेर अवरुद्ध बनेको थियो । नेपालले त्यसपछि लगातार दुई विकेट लियो । तर, त्यो निकै ढिला भइसकेको थियो ।अब्दुल रसुलले दुई वटा छक्का हिर्काउँदै आफ्नो टोलीलाई जीत दिलाए ।

नेपालका लािग सन्दीप लामिछाने, कमल सिंह ऐरी र पवन शरार्फले एक–एक विकेट लिए ।यसअघि टस हारेर ब्याटिङ पाएको नेपालले ब्याटिङमा निकै निरिह प्रदर्शन गरेको थियो ।

अनिल कुमार साहले ५० रन बनाउन बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । साहले ५७ बलमा ७ चौका र १ छक्कासहित आफ्नो अर्धशतक पूरा गरेका थिए । तर, उनी पनि अर्धशतक पूरा गर्ने बित्तिकै मुजिब उर रहमानको बलमा आउट हुन पुगे । रहमानले ६ विकेट लिँदै नेपालको ब्याटिङक्रम ध्वस्त बनाए । उनले १० ओभर बलिङ गर्दै २ मेडेनसहित २८ रन खर्चेर ६ विकेट लिए । काइस अहमद कमावालले २ विकेट लिए ।

नेपालले निकै खराब शुरुवात गरेको थियो । ९ रनको अवस्थामा नै नेपालले आफ्ना दुई ओपनर गुमाएको थियो । एक तर्फ साहले नेपालको इनिङलाई जोगाई राखे पनि अर्कोतर्फ निरन्तर रुपमा विकेट गुमाइराख्यो । अन्ततः मात्र २८ ओभरमा नेपाल १०३ रन बनाउँदै अल आउट हुन पुग्यो ।

नेपालले समूह चरणको खेलहरुमा बंगलादेशसँग पराजित भएको थियो भने भारत र आयोजक मलेसियालाई हराएको थियो ।  अब आइतबार किनरारा ओभलमा हुने फाइनल खेलमा अफगानिस्तानले पाकिस्तानको सामना गर्नेछ ।

बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा पाकिस्तानले बंगलादेशलाई डकवर्थ लेविसको आधारमा २ रनले पराजित गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस