उन्नाइस बुँदे प्रतिवद्धताले सार्वजनिक सवारीप्रतिको गुनासो रोकिएला ?

सफल खबर संवाददाता

मंगलबार, २२ पुस २०७६, १८ : १६
उन्नाइस बुँदे प्रतिवद्धताले सार्वजनिक सवारीप्रतिको गुनासो रोकिएला ?

काठमाडौँ । सर्वसाधारणले सार्वजनिक सवारीप्रति ठुलै गुनासो गरे । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई समेत फोन गरेर जानकारी गराए । यसरी आउने गुनासो सबै प्रकृतिका गरेर दिनमै झण्डै २ हजार हुने गरेको महाशाखाको भनाइ छ ।

ढकालका अनुसार हरेक दिन जसो नै सर्वसाधारणबाट कुनै न कुनै गुनासो आउँथ्यो । कसैले आरक्षण सिट पाएन, कसैले सहचालकले गाली गर्यो, कसैले जथाभावी रूपमा ओराल्यो भनेर गुनासो गर्थे । पटक–पटक गुनासो आपछि एक दिन ढकाल आफैँ सादा पोषाकमा सार्वजनिक सवारीको अवस्था बुझन् निस्किए । 

काठमाडौँको पुतलीसडक, बानेश्वर, रत्नपार्कलगायत क्षेत्रमा सार्वजनिक सवारीमा चढेर यात्रा गरे । कहिले सार्वजनिक बस त कहिले ट्याक्सीमा चढेर चालकको आनीबानी, यात्रुलाई गर्ने व्यवहार र भाडा दरबारे बुझे । उनले प्रत्यक्ष रुपमा देखे । सार्वजनिक सवारीमा केही न केही समस्या भन्ने पत्ता लाग्यो । उनी आफैँ साँघुरो सिटमा बसेर घुँडा ठोक्कीने गरी यात्रा पनि गरेको अनुभव सुनाए । छोटो दुरीमा ट्याक्सी चालक मिटरमा जान नमान्ने समस्या पनि देखे । 

ढकाल भन्छन्, “अनुगमनका क्रममा यात्रुलाई सहचालकले गर्ने व्यवहार राम्रो पाइएन, यात्रुहरु सकसमा बसेको पाइयो ।” त्यसपछि उनले जुक्ति निकालेर समस्या समाधान गर्ने पहल थाले । लगत्तै उनले सबै यातायात व्यवसायी र मजदुरहरुलाई बोलाएर छलफल चलाए । छलफमा यातायात व्यावसायी बसेर १९ बुँदे प्रतिबद्धता जनाइएको छ । जुन प्रतिबद्धता सातदिन भित्रमा कार्यान्वयनको चरणमा जाने उल्लेख छ । 

के छ १९ बुँदे प्रतिबद्धतामा 
हालै गरिएको १९ बुँदे प्रतिवद्धता कार्यान्वयन भए नभएको अनुगमनका लागि प्रहरी उपरीक्षक राजकुमार बैदवारको नेतृत्वमा व्यवसायि सम्मिलित एक अनुगमन समिति समेत बनाइएको छ । मुख्य गरी प्रतिबद्धतामा निम्न कुराहरु समावेश छ ।  जुन प्रतिवद्धता एसएसपीले सादा पोशाकमा यात्रा गर्दा देखिएका समस्यासँग केन्द्रीत छ । 
-    तोकिएको भाडा दर मात्र लिने
-    ढोका खुला गरी नचलाउने
-    आरक्षण सिटको पालना गर्ने 
-    झ्यालको अवस्था ठिक राख्ने
-    सिटको अवस्था ठिक राख्ने
-    गाडीको रंगरोगन दुस्त राख्ने
-    क्षमताभन्दा बढी यात्रु नबोक्ने
-    चालक र सहचालकले यात्रहुरुलाई राम्रो व्यबहार गर्ने 
-    गाडी तीव्र गति तथा लापरवाहीका साथ नचलाउने
-    चालकले यात्रसँग अनाश्यक गफ नगर्ने 
-    चालकले मोबाइल फोन प्रयोग नगर्ने
-    गाडी नियमित सरसफाई गर्ने
-    अरूलाई बाधा पग्ुनेगरी ठूलो आवाजमा म्यूजिक नबजाउने
-    सवारी साधनमा स्टिकर र झल्लर नलगाउने
-    सवारी साधनको अवस्था ठिक राखेर चलाउने
-    चालकले जुत्ता लगाएर मात्र सवारी चलाउने
-    तोकिएको स्थानमा मात्र यात्रु झार्ने चढाउने 
-    प्रयोजन विपरित गाडी प्रयोग नगर्ने
-    चालक र सहचालक भद्र तथा सोभनीय हुनपुर्ने

उक्त प्रतिबद्धता सात दिनभित्रमा कार्यान्वयन गर्ने सहमती भएको एसएसपी ढकालले बताएका छन् । उक्त प्रतिवद्धतामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि, यातायात मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा संचालित यात्रुबाहक सार्वजनिक सवारी साधनसंग सम्बन्धित प्रतिनिधिहरु सहभागि थिए । 

अहिले उक्त सहमती कार्यान्वयन हुनेमा भने शंका उब्जिएको छ । एसएसपी ढकाल भने जसरी पनि कार्यान्वयन गरेरै छाड्ने बताउँछन् । कार्यान्वयन नभए कारबाही गर्ने उनले चेतावनी दिएका छन् । 

उपत्यकामा कोचिएर सकसको यात्रा गर्न बाध्य भएका यात्रुहरुका लागि उक्त प्रतिबद्धता कार्यान्वयन भएमा भने ठूलै राहत महशुस हुन्छ । 
 

प्रतिक्रिया दिनुहोस