पूर्वराजा ज्ञानेन्द्रको चियाबगानले तिरेन साढे पाँच करोड कर

पत्रपत्रिकाबाट

विहीबार, १७ पुस २०७६, १३ : १५
पूर्वराजा ज्ञानेन्द्रको चियाबगानले तिरेन साढे पाँच करोड कर

झापा । पूर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित चिया बगानले वर्षौदेखि कर नतिरे पाईएको छ । झापाको दमक नगरपालिका ४ र ९ को पाँच सय ७५ बिघा १७ कट्ठा १४ धुरमा रहेको हिमालय-महालक्ष्मी टी गार्डेनको पाँच करोड ३० लाख कर बक्यौता छ ।

गणतन्त्र स्थापनापछि स्थानीय स्वायत्त शासन ऐनको अधीनमा रही यो बगानलाई पनि एकीकृत सम्पत्ति कर लागू भएको थियो । तर, बगानले हालसम्म कर नतिरेको दमक नगरपालिकाको राजस्व शाखाले जानाएको छ । चिया बगानको व्यवस्थापन हाल सोल्टी ग्रुपले गर्दै आएको छ । हिमालय-महालक्ष्मी टी गार्डेन प्रालिले सञ्चालन गरेको चिया बगानभित्र काठका धेरै संरचना छन् । जहाँ पूर्वराजपरिवारले प्रयोग गर्ने गरेको ‘मिनी दरबार’ पनि छ । यो दरबारमा पूर्वराजा ज्ञानेन्द्र प्रत्येक वर्ष आउने गर्छन् । गत बुधबार पनि उनी बगानमा आएका थिए ।

हिमालय-महालक्ष्मी टी गर्डेनलाई दमक नगरपालिकाले कर तिर्न पटक-पटक ताकेता गरेको छ, तर उठाउन सकेको छैन । ‘हामीले पटक-पटक ताकेता गरेका छौँ । धेरैपटक पत्र काटेका छौँ,’ मेयर रोमनाथ ओली भन्छन्, ‘यहाँ (गार्डेनमा) भएका कर्मचारीसँग कुरा गर्दा ठूलो रकम छ, हामीले सक्दैनौँ, माथि भन्नुपर्छ भन्छन् । नगरपालिकाले पूर्वराजालाई चिन्दैन । यो त कम्पनीको नाममा छ । हामी कम्पनीलाई मात्रै चिन्छौँ ।’ -नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस