९ वर्ष पछि डा. भक्तमान अपहरणमा संलग्न आरोपी योञ्जन पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०३ पुस २०७६, २१ : ५३
९ वर्ष पछि डा. भक्तमान अपहरणमा संलग्न आरोपी योञ्जन पक्राउ

काठमाडौं । केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालिन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न भएको आरोपित गौतम योञ्जनलाई पक्राउ गरेको छ । आरोपी योञ्जनलाई आज काठमाडौंको महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको श्रोतले जनाएको छ ।

९ वर्ष अघि भएको घटनामा संलग्न आरोपमा योञ्जन चितवन अदालतबाट २३ जेठ २०६९ सालमा सफाई पाएका थिए । पछि यही घटना उच्च अदालत हेटौडामा पुगेसंगै उच्चले योञ्जनलाई दोषी ठहर गरेको थियो । अहिले यही मुद्धा सर्वोच्च अदालतमा विचाराधिन छ । आफ्नै निजि गाडीमा गईरहेका बेला ४ जेठ २०६७ मा भिमसेन पण्डित, रोहित पालिवाल लगायतको समूहले फिरौतीको लागि डा. श्रेष्ठको अपहरण गरेको थियो । अपहरणपछि उनको झोला र अन्य सामग्री मुग्लिन नजिकै फेला परेका थियो ।

अपहलरण लगत्तै उनलाई काठमाडौंको विभिन्न ठाउँमा बन्धक बनाएर पछि योञ्जनको बुढानिलकण्ठस्थित फार्म हाउसमा केही दिन राखिएको अनुसन्धानबाट खुलेको थियो । बन्धक बनाएको १९ दिनपछि भारत, उत्तरप्रदेशको कानपुर नजिकै अपहरणकारीलाई तीन किलो ६ सय ग्राम सुन फिरौती बुझाएपछि डा. श्रेष्ठलाई अपहरणकारीले छाडेका थिए ।प्रकरणका मुख्य अभियुक्त मानिएका पण्डित भने अझै फरार छन् ।

अनुसन्धान अधिकृतहरु योञ्जनलाई पण्डित निकटस्थ व्यक्ति मान्छन् । अपहरणपछि योञ्जन भागेर सिक्किम पुगेका थिए । श्रोतका अनुसार हालै उनी अमेरिका छिर्ने तयारीमा रहेको र अमेरिकी दूतवासबाटै सूचना प्राप्त भएपछि पक्राउ परेका हुन् । रोहित र भीमसेन समूहले त्यसवेला भीओआईपी कलबाइपास प्रयोग गरेर परिवारसँग सम्पर्क गरेका थिए, जसका कारण प्रहरीले फोन कहाँबाट आयो भन्ने अत्तोपत्तो पाउन सकेको थिएन । पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पालिवाललाई भने भारतको उत्तर प्रदेशस्थित कानपुरमा रहेको घरबाटै पक्राउ गरेको थियो । त्यसक्रममा फिरौती लिन आउने व्यक्ति पनि रोहित नै भएको खुलेको थियो ।

प्रहरीका विभिन्न निकायले मुख्य आरोपित पण्डितको खोजी जारी राखे पनि अहिलेसम्म पक्राउ गर्न सकेको छैन् ।  पालिवाल पक्राउ पर्नुअघिसम्म उनलाई भारतीय नागरिक मानिएको थियो । तर, पछि उनको स्थायी ठेगाना नुवाकोट रहेको र उनी नेपाली नै भएको खुलेको थियो । उनको परिवारका सदस्य अझै त्यहीँ छन् ।तर, परिवारसँग पनि सम्पर्कबाट टाढै रहेका कारण उनलाई प्रहरीले समात्न सकेको थिएन ।

उनी मोबाइल वा सञ्चारको अन्य साधानबाट टाढै बस्छन् । त्यसैले पनि उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन् । २०७५ सालमा पालिवाल नेपाल छिरेको प्रहरीको इन्टलिजेन्सले सुचना पाएपनि पक्राउ गर्न सकेन् । डा. श्रेष्ठ अपहरणमा परेसंगै उनको रिहाईको माग गर्दै देशभरिनै स्वास्थ्यकर्मीले सेवा ठप्प पारेका थिए ।

 

प्रतिक्रिया दिनुहोस