उदयपुर । त्रियुगा नगरपालिका ७ स्थित चुहाडे बजारदेखि १ किलोमिटर परको दूरीमा एउटा झुप्रो घर भेटिन्छ। एउटा मात्र कोठा रहेको घरभित्र तीनवटा ढुंगा गाडेर बनाएको अगेनो, एकछेउमा भात पकाउने कसुडी, छेउमा दुईवटा खाट जोडेर बनाएको ओछ्यान छ।
बाहिरबाट ढोकाको चुकुल लागेको छ, भित्र चार दाजुभाइ नांगै खेलिरहेको दृश्य प्वालबाट सहजै देख्न सकिन्छ। बाहिर निस्कने बेला मात्र उनीहरूलाई कपडा लगाएर निकालिन्छ। त्यहीभित्र खेल्ने र दिसापिसाब गर्ने गर्दछन्।
यो समस्या चुहाडेका जीतबहादुर दनुवारको हो। भएका चार सन्तान सबै सुस्त ! त्यसमा पनि स्यहारसुसार गर्ने आमा नहुनु। मानिसको व्यक्तिगत जीवनमा योभन्दा कहालीलाग्दो अरू के नै हुन सक्छ र ? त्यो पनि सम्पत्तिको नाममा जम्मा ५ धुर जग्गा। त्यसभित्र निर्मित एक कोठे झुप्रो घर।
२७ वर्षदेखि एउटै कोठामा छोराहरूले गरेको दिसापिसाब सरसफाई गर्दै जीतबहादुर जीवन बिताउने गर्दछन्। ६ जनाको परिवारमध्ये पत्नीको तीन वर्षअघि मृत्यु भएको थियो, चार छोरा रोगबाट ग्रसित छन्। आर्थिक अवस्था कमजोर रहेको दनुवार परिवार २७ वर्षीय भरत, २५ वर्षीय पर्वत, २२ वर्षीय जयराम र १८ वर्षीय सितारामलाई एउटै कोठामा थुनेर दुई छाक टार्न बनिबुतो गर्न बाध्य छन्। उपचार खर्चका लागि आर्थिक अवस्था कमजोर भएपछि घरमा थुन्न बाध्य भएको उनको भनाइ छ।
‘पत्नीले संसार छाडेर गइहाली’, भक्कानिँदै जितबहादुर भन्छन्, ‘दैव लागेर भएका चारवटै छोरा मानसिक रोगी भए। उपचार गर्ने पैसा छैन।’ जस्तोसुकै रोग लागे पनि सन्तान आफ्नै भएकाले जसरी पनि पालनपोषण गर्नु परेको उनको भनाइ छ। उनले भने, ‘उपचार गर्ने पैसा छैन, कसलाई के भनौं ? ’ एक वर्ष अघिदेखि नधोएका ओढ्ने ओछ्याउने उनले देखाए।
मानसिक अस्पताल पाटन लगायतका विभिन्न अस्पतालमा लगेर उपचार गराएकोमा नियमित औषधि सेवन तथा जाँच गराउन नसक्दा रोग निको नभएको जितबहादुरले बताए। उनले भने, ‘नेतादेखि ठूला मान्छे सबैलाई सुनाएँ कसैले केही गरेनन्।’ सोही वडाका वडाध्यक्षले त्यस्ता बिरामीका लागि वडाको तर्फबाट वार्षिक रूपमै प्याकेज बनाई सहयोग गर्ने तयारी गरेको बताए। अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २५ मंसिर २०७६, ०७ : १७
लेखकबाट थप