हाम्रो ध्यान सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि गर्ने तर्फ केन्द्रित छ : अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, २२ मंसिर २०७६, १७ : १८
हाम्रो ध्यान सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि गर्ने तर्फ केन्द्रित छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र पार्टीको ध्यान सामुदायिक विद्यालयहरुको पूर्वाधार र शैक्षिक गुणस्तरको अभिवृद्धि गर्नेतर्फ रहेकाे बताउनुभएको छ ।

आइतबार काठमाडौंको दहचोकमा श्रीकृष्ण माविको बिद्यालय भवन उद्घाटन गर्दै उहाँले आफुहरुको घोषणापत्रमा नै प्रविधिमैत्री शिक्षा बनाउने उल्लेख गरेको बताउनुहुँदै राष्ट्रिय शिक्षा नीतिलाई अन्तिम रुप दिने क्रममा रहेको जानकारी दिनुभयो ।
शिक्षा क्षेत्रको सुधार नगरेसम्म समृद्धि र विकासको सपना पुरा हुन नसक्ने उहाँको भनाई थियो । व्यवसायीक शिक्षा निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले शिक्षामा निजी क्षेत्रलाई निषेध गरेर नहुने बताउनुभयो । निजी क्षेत्रलाई पनि निषेध गर्न खोजेर, राज्यले दमन गरेर नियन्त्रण गर्ने होइन, सामुदायिक विद्यालयहरुलाई राम्रो गरिदिएपछि स्वतः निजी र सार्वजनिकको सन्तुलन मिल्ने उहाँको भनाई थियो ।

त्यसैगरी श्री नारायणजन माध्यमिक विद्यालय, मच्छेगाउँको भवन हस्तान्तरण तथा समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आजै उहाँले आफूहरुले जनताको जीवनमा सकारात्मक सन्देश दिने र रोजगारमूलक शिक्षाको कुरा गरेको बताउनुभयो । अध्यक्षले समाज र राष्ट्रको लागि योगदान दिन सक्ने क्षेत्र भनेको शिक्षा नै भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस