ताप्लेजुङ । ताप्लेजुङमा रहेको पाथीभरा बहुमुखी क्याम्पसले स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि बुधबारदेखि महायज्ञ शुरु गरेको छ । क्याम्पस स्थापना भएको २७ वर्षपछि तह वृद्धिका लागि पूर्वाधार निर्माणमा आवश्यक रकम जुटाउने उद्देश्यले क्याम्पसले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाएको हो ।
अर्थ संकलनका लागि जिल्लामा गरिएको यो पहिलो महायज्ञ हो । करिब रु दुई करोडभन्दा बढी संकलन गर्ने लक्ष्यका साथ शुरु भएको महायज्ञमा पहिलो दिन नै विभिन्न दाताले रु पाँच लाखभन्दा बढी दान गरेका छन् ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष गजेन्द्रप्रसाद तुम्याहाङका अनुसार ठेकदार जसबहादुर लिम्बूले रु एक लाख ५१ हजार, नेपाली काँग्रेस, ताप्लेजुङ–काठमाडाँै सम्पर्क समिति अध्यक्ष युवराज गुरुङले रु एक लाख ११ हजार र काँग्रेस ताप्लेजुङका नेता अमिर मादेनले रु एक लाख ११ हजार दिनुभएको छ । यस्तै, प्याब्सन ताप्लेजुङले रु एक लाख ११ हजार प्रदान गरेको प्याब्सनका कोषाध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।
जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले एक महिनाको तलब उपलब्ध गराउनुभएको छ । क्याम्पस परिसरमा सञ्चालित महायज्ञ आगामी फागुन २ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञ शुरु हुनुपूर्व बुधबार बिहान सदरमुकाम फुङलिङ बजारमा कलश यात्रा गरिएको थियो । विसं २०४७ मा स्थापना भएको यस क्याम्पसमा शिक्षा, मानविकी र व्यवस्थापन संकायतर्फ स्नातक तह सम्मको पठनपाठन हुँदै आएको छ । यसै वर्षदेखि शिक्षा संकायतर्फ स्नातकोत्तर तहको पठनपाठनका लागि त्रिभुवन विश्वविद्यालयमा यसअघि निवेदन गरिएको क्याम्पस प्रमुख मोहनकुमार राईले जानकारी दिनुभयो ।
महायज्ञबाट संकलित रकम भवन निर्माण, ई–लाइब्रेरी, विद्युतीय प्रविधि सेवा सञ्चालन र दक्ष जनशक्तिको व्यवस्थापनमा खर्च गरिने क्याम्पस सञ्चालक समितिका अध्यक्ष गजेन्द्र तुम्याहाङले जानकारी दिनुभयो ।
बर्षेनी यस क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरी ठूलो खर्चसहित जिल्लाबाहिर जानुपर्ने विद्यार्थीको वाध्यतालाई अन्त्य गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा सहभागी भई सहयोग गर्न सबैमा क्याम्पस प्रमुख राईले आग्रह गर्नुभएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस