अन्तर्वार्ता

‘संघीयता मौरीपालक किसानको लागि अभिसाप नबनोस्’

सफल खबर संवाददाता

मंगलबार, १७ मंसिर २०७६, १० : ०४
‘संघीयता मौरीपालक किसानको लागि अभिसाप नबनोस्’

मौरीपालन कृषि पेसा हो । मानिसले आजभन्दा १५ हजार वर्षअघिदेखि मौरीबाट मह संकलन गरिएको पाइन्छ । १८ औं शताव्दीमा युरोपियन नागरिकहरुले मौरीलाई आधुनिक घार बनाएर राख्न थालेका हुन् । त्यसपछि विस्तारै यसको विकास अन्य देशहरुमा हुँदै गएको हो । 

प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइस्टाइनले भनेका छन्, ‘यदि पृथ्वीबाट माहुरी लोप हुन्छन् भने त्यसको चार वर्षपछि मानिसको अस्तित्व रहने छैन ।’ पृथ्वीमा अस्तित्वमा रहेका ९० प्रतिशत बोटविरुवा माहुरीको परागसेचनका कारण बाँचेका छन् । 

नेपालमा २०५२ सालबाट व्यावसायिक रुपमा मौरी पालन सुरु भएको हो । नेपालमा मौरीपालनबाट करिब ६ हजार घरपरिवार र करिब १५ हजार जनसंख्याले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएका छन् । समग्र नेपालको मौरीपालन व्यवसायलाई लिएर नेपाल मौरीपालक महासंघका अध्यक्ष शिवप्रसाद शर्मासँग सफल खबरले गरेको कुराकानीको सम्पादित अंश :

नेपाल कृषि प्रधान देश, मौरीपालन पनि कृषि पेसा नै हो । नेपालमा अन्य किसानको तुलनामा मौरीपालन किसानहरु कति समस्यामा छन् ?

नेपालमा मौरीपालन गर्ने किसान बढिरहेका छन् । नेपालभर ३४ जिल्लाभन्दा बढीमा मौरीपालन गर्ने किसान छन् । उनीहरुलाई कुनै न कुनै समस्यासँग जुध्न परिरहेको छ । यो पेसा फिरन्ते पेसा हो । एक ठाउँबाट अर्को ठाउँमा नगई यो पेसा गर्न सकिदैन । 

मौरी र घार लिएर विभिन्न ठाउँमा जाँदादेखि उत्पादन गरेको महको बजारसम्म मौरीपालक किसान समस्यासँग जुधिरहेका छन्। हुन त अरु किसान पनि समस्यामा होलान्, तर मौरीपालन किसान समस्याको चपेटामा छन् । रिक्स जोनमा बढी छन् । 

जस्तो, चितवनबाट दाङमा मौरी लिएर जाँदा बीचमा सडक अवरुद्ध भइदियो भने त्यो किसानको सर्वनाश भयो । घार चोरी हुनेदेखि कम गुणस्तरका मह आयातसँग जुध्दाजुध्दै मौरीपालक किसानहरु थाकेका छन्, तर हरेश खाएका छैनन् । मौरी बचाएर संसारको अस्तित्व जोगाएका छन् ।

निराश लाग्ने कुनै सत्य कथाजसरी भन्नुभयो, खास मौरीपालन किसानका मुख्य समस्याहरु केके छन् ?

हो, हाम्रा कथा निराशजस्तै छन् । समस्या त जहाँ पनि आउँछन्, तर मौरीपालक किसानको समस्या उर्लेको खहरेजसरी आउँछ । मौरी एक ठाउँबाट अर्को ठाउँमा नलगी सुखै हुँदैन, त्यसमाथि पनि लैजाने राति हो । लैजाँदा घार चोरी हुने समस्या हुन्छ । जुन ठाउँमा लगियो, त्यो ठाउँबाट कति त्यहाँका स्थानीयबाट लखेटिएका पनि छन् । 

मौरीका घारलाई जोगाउन उस्तै परे रातभरि ग्रस्ती गर्नुपर्छ । बल्लबल्ल मह उत्पादन गरियो, फेरि बजार पाउँदैन । सकिनसकि बजारमा मह लगियो, हाम्रो महभन्दा भारतबाट आएको मह सस्तो हुन्छ । अनि मह विक्री हुँदैन, किसानको सपना सबै तुहिन्छ । त्यो किसानलाई बचाउन कोही आउँदैन, न त्यहाँ राज्य देखिन्छ, न त्यहाँ स्थानीय सरकार भेटिन्छ । 

मौरीको घार एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा के समस्या हुन्छ र ?

व्यावसायिक मौरीपालक किसानले एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा फर्कनुपर्ने अवस्था आएको छ । संघीयता मौरीपालक किसानको लागि अभिसापजस्तो भयो । प्रदेश ३ को चितवनबाट मौरीको घार लिएर प्रदेश ५ दाङ गएका किसान त्यहाँबाट फर्कनुपरेको छ । त्यहाँको स्थानीय सरकारले नै पत्र काटेर फर्कन निर्देशन दिएको छ ।

फिरन्ते पेसालाई एक प्रदेशबाट अर्को प्रदेशमा जाँदा यसरी लखेटियो भने कसरी मौरीपालन पेसामा किसान आकर्षित हुन्छन् ? कहिले सर्लाही, कहिले बाँके त कहिले रौतहट जानुपर्छ । महिना दिनको फरकमा घुमिरहनुपर्छ । सबै ठाउँबाट लेखटिन पर्ने अवस्था आयो भने घरमा पालेर त हुँदैन । चितवनका किसान दाङजाँदा लखेटिनुपर्ने, दाङका किसान चितवन आउँदा लखेटिनुपर्ने अवस्था आयो भने के हुन्छ, रहन्छ यो पेसा ? यो अवस्था हामीले सरकारलाई पनि भनेका छौँ, तर समस्या समाधान भएको कुनै ग्यारेन्टी छैन ।

भारतबाट आउने महले नेपालमै उत्पादन भएको महलाई केकति असर पारेको छ ?

मौरीपालक किसानको लागि यो अर्को ठूलो समस्या हो । किसानले मरीमरी मह उत्पादन गर्छ । नेपाली किसानको एक किला मह उत्पादन गर्दा कम्तीमा २४२ रुपैयाँ पर्छ, तर कम गुणस्तरको आयातित मह २२० रुपैयाँ किलामा पाइन्छ । यस्तो अवस्थामा मौरीपालक किसान गर्ने ? कति उपभोक्ताहरु सस्तो मह खान्छन् । धेरै दाम हाल्न सक्दैनन् । कम गुणस्तरको भए पनि उनीहरु आयातित मह खान्छन् । उपभोक्ता सबैले मह चिन्न पनि सक्दैनन् । जसको चोट नेपाली उत्पादन महमा परेको छ । 

युरोपियन देशहरुमा नगएको कम गुणस्तरको मह भारतबाट नेपाल आइरहेको छ । हामीले आयातित महमा भन्सार दर बढाउन भनिरहेका छौँ, तर सरकारले सुनेको छैन । भन्सार बढ्यो भने त्यो मह यहाँको बजारमा आउँदा महँगो पर्छ, जसका कारण मूल्य एउटै भयो भने त उपभोक्ताले नेपाली मह खान्छ ।

नेपाली महको उत्पादनमा लागत घटाउन सके पनि हुन्छ नि, कि हुँदैन ?

हो यहाँको उत्पादनमा लागत घटाउन सके पनि हुन्छ । तर त्यसको लागि सबै कुरा घट्नु पर्छ । तर यहाँ त्यस्तो वातावरण छैन । हाम्रो मह सबै सरकारले खरिद गरेर आफ्नै ब्राण्ड बनाएर मह बेचोस् न हामी त खुसी हुन्छौँ । आयातित महसँग प्रतिस्पर्धा गर्न सक्ने गरी सरकारले त्यसो गरेमा किसान तयार छन् । 

त्यसो गर्न नसके सरकारले कि मौरी पालन किसानलाई प्रशस्त अनुदान दिनुप¥यो । लागत घटाउन यातायात ढुवानीहरु घट्नुप¥यो । सबै चीजहरु घट्नुपर्छ । तर यहाँ त्यसो हुन सक्ने अवस्था छैन । हामी त सरकारले सबै मह खरिद गरेर आफ्नो नेपाली मह ब्रान्ड बनाएर विदेशसम्म निर्यात गरोस् भन्ने चाहन्छौँ । 

नेपाल महमा आत्मनिर्भर त छैन, उत्पादनको अनुपात कस्तो छ ?

महमा नेपाल आत्मनिर्भरको कुरा त छोडौँ । आधा माग पनि धानेको छैन । गत वर्ष देशमा ६ हजार २५० मेट्रिक टन मह खपत भयो । जसमा २७ सय मेट्रिक टन आयातित थियो । बाँकी नेपाली उत्पादन हो । यस वर्ष त झन् महको उत्पादन घट्ने अवस्था छ । तर माग त महको बढिरहेको छ । यहाँको उत्पादनले त एक छेउ पनि हुँदैन । महमा आत्मनिर्भर हुन धेरै कसरत गर्नुपर्छ सरकारले, यो चानचुने कुरो होइन । 

महको उत्पादन बढाउन सरकारले केके गर्नुपर्छ ?

महको उत्पादन बढाउन चरन क्षेत्रको विस्तार र खोजी गरिनुपर्छ । महजन्य बिरुवाहरु चिउरी, सिसौँ, जामुनो, सिमल, सुन्तलालगायतका बिरुवाहरुको वृक्षरोपण गर्नुपर्छ । मौरी बोक्ने सवारी साधनलाई सडकमा एम्बुलेन्सलाई जस्तो सुविधा दिनुपर्छ । फूलखेती, तोरी, फापरखेतीको विस्तार गरिनुपर्छ । वृक्षरोपणका कार्यक्रमहरु अगाडि सार्नुपर्छ । 
मौरी र मौरीको घारको बिमाको व्यवस्था गरिनुपर्छ ।

किसानलाई प्रोत्साहन गर्ने खालको नीति बनाइनुपर्छ । गुणस्तरीय रानी मौरीको उत्पादन गर्ने वातावरण बनाइनुपर्छ । महको एकद्वार प्रणालीबाट विक्रीवितरण गर्ने नियम लगाइनुपर्छ । अन्तर्राष्ट्रिय मापदण्डका ल्याबहरुको स्थापना हुनुपर्छ ।
 

प्रतिक्रिया दिनुहोस