– वासुदेव पौडेल
पोखरा । खेतीबाली लगाउँदादेखि नपाक्दासम्म अहोरात्र बाँदर कुरेर बस्नुपर्ने बाध्यता सहेका कृषक यतिखेर मेकाडामिया नट खेतीतर्फ आकर्षित बनेका छन् ।
बाँदरबाट जोगाउन सकिने भएपछि विगत चार वर्षयता मेकाडामिया नट लगाउन थालेका पुतलीबजार नगरपालिका–२ भैँसेगौँडाका किसान यसलाई वैकल्पिक खेतीका रुपमा अघि बढाएका हुन् । दुःख गर्नुसम्म ग¥यो क्षणभरमा बाँदरले सखाप बनाइदिन थालेसँगै त्यसको विकल्प खोजेका कृषकका लागि मेकाडामिया नट यतिखेर बरदान सावित भएको छ ।
बाँदरबाट जोगाउन सकिने र आयआर्जनको महत्वपूर्ण विकल्प हुने सम्भावनालाई दृष्टिगत गरी भैँसेगौँडामा २०७२ सालदेखि नै सामूहिक मेकाडामिया नटको खेती शुरु गरिएको हो ।
राङभाङ मेकाडामिया नट उत्पादन कृषक समूह गठन गरी यस क्षेत्रका २५ जना कृषक आबद्ध भई सामूहिकरुपमा यसको खेती थालिएको समूहका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिनुभयो । मेकाडामिया नटको बिरुवाको बढ्दो मागलाई दृष्टिगत गरी समूहले नर्सरी तयार गर्दै बिरुवा बिक्री वितरण समेत गर्दै आएको छ ।
अध्यक्ष गुरुङका अनुसार यहाँ उत्पादित बिरुवा स्याङ्जा जिल्लाका साथै कास्की, तनहु, सङ्खुवासभा, चितवनलगायतका जिल्लामा पु¥याइसकिएको छ । भैँसेगौँडा आसपासका ओरष्टे, कोल्मा, काउले, बाकोटलगायतका स्थानमा व्यक्तिगतरुपमा पनि कृषकले मेकाडामिया नट लगाएका छन् । यस आसपासमा मात्रै व्यक्तिगत रुपमा हाल एक हजार ५०० भन्दा बढी बोट लगाइसकिएको छ ।
ठाउँठाउँमा बाँदरको बिगबिगी रहेको अवस्थालाई दृष्टिगत गर्दै त्यसबाट जोगिने र वर्षौं फाइदा लिन सक्ने भएका कारण यसको खेती थालिएको कृषक बताउँछन् । भैँसेगौँडामा विसं २०७२ मा कृषि अनुसन्धान केन्द्र, मालेपाटन पोखराको पहल र साविक राङभाङ गाविसका २५ जना कृषकको पहलमा पहिलोपटक नर्सरी तयार गरिएको हो । नर्सरीसँगै आसपासका स्थानीय कृषक व्यक्तिगतरुपमा पनि यसतर्फ आकिर्षत बनेको समूहका सदस्य हिमबहादुर गुरुङले जानकारी दिनुभयो ।
मेकाडामियानट खेतीको शुरुआत अष्ट्रेलियाबाट भएको हो । समशितोष्ण हावापानीको क्षेत्रमा उत्पादन हुने यसको फलमा प्रोटिन, क्याल्सियम फोस्फोरस, पोटासियम, सोडियम, फलामलगायतका पोषकतत्व पाइन्छ । राम्रो उत्पादन गर्नसके मेकाडामिया नटको माग अष्ट्रेलियासम्म हुने गरेको छ । बजारमा प्रतिकिलो रु ८०० सम्म बिक्री हुने गरेको बताउँदै गुरुङले बजारको मागअनुसार पु¥याउन धौधौ भएको बताउनुभयो ।
सामान्यतः २५ देखि ३२ डिग्री तापक्रम यो नटका लागि उपयुक्त हुने भएकाले मध्यपहाडी क्षेत्र यसका लागि उपयुक्त मानिन्छ । समुद्री सतहबाट लगभग एक हजार २०० देखि एक हजार ३०० मिटरसम्मको उचाइको सिँचाइयुक्त भूभाग यसका लागि उपयुक्त मानिन्छ । भैँसेगौँडा समुद्री सतहबाट एक हजार ५५० मिटरको उचाइमा रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
मागअनुसार प्रत्येक वर्ष नर्सरीमा बिरुवा उत्पादन गरिँदै आइएको र हाल करिब दुई हजार जति बिरुवा बिक्रीका लागि राखिएको छ । तनहुको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीको सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा भैँसेगौँडा पर्ने भएकाले मेकाडामिया नटको बिरुवा तथा फल उत्पादन गर्न सके बजारको कुनै समस्या नहुने कृषकको तर्क छ । सामूहिक प्रयासमा स्थानीयले मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टे पनि सञ्चालनमा ल्याइसकेका छन् ।
कास्की जिल्लाका ल्वाङघलेल, अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका विभिन्न भूभागका साथै आसपासका क्षेत्रमा यसको खेती वर्षेनी विस्तार हुँदै गएको छ । बाँदर नलाग्नुका साथै टिपिसकेपछि यसको फल लामो समयसम्म सुरक्षित राख्न सकिने भएकाले पनि यस तर्फको आकर्षण बढ्दै गएको हो ।
उत्पादन समयका दृष्टिले दशैँ तिहारको समयमा फल टिपिने भएकाले नेपालको आन्तरिक बजारमा पनि यसले महत्वपूर्ण स्थान ओगट्न सक्ने देखिन्छ । मेकाडामिया नट लगाएको पाँच वर्षमा उत्पादन लिन सकिन्छ भने र झण्डै २० वर्षभन्दा बढी फल्ने गर्दछ ।
बाँदरको समस्या वर्षेनी बढ्दै गएका अवस्थामा त्यसबाट जोगाउन सक्ने वैकल्पिक खेतीका रुपमा मेकाडामिया नटको विकास तथा विस्तार उपयोगी बन्दै गएको कृषकको तर्क छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १३ मंसिर २०७६, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाँदरमा पहिलाे पटक मानिसमा सर्ने दुर्लभ भाइरस फेला
बाँदर नियन्त्रण गर्ने कानुन बनाउन कानुनमन्त्रीसँग माग
पर्वतको पैंयुँ गाउँपालिकाले बाँदर हेरालु कर्मचारी नियुक्त गर्ने
बाँदरले दुःख दिएको भन्दै त्रिपुरासुन्दरीमा पनि रुख काट्ने निर्णय
बाँदर नियन्त्रणका लागि भन्दै वडाध्यक्षले जारी गरे रुख काट्ने उर्दी
बसाइँसराइले रित्तिदै गाउँ, बढ्यो बाँदर आतंक