१३ औं दक्षिण एसियाली खेलकुद १५ मंसिरमा राष्ट्रपतिबाट उद्घाटन, प्रतियोगिता भने आजैबाट

सफल खबर संवाददाता

बुधबार, ११ मंसिर २०७६, ०९ : १५
१३ औं दक्षिण एसियाली खेलकुद
 
१५  मंसिरमा राष्ट्रपतिबाट उद्घाटन, प्रतियोगिता भने आजैबाट

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता आजबाट शुरु हुँदैछ । २० वर्षको अन्तरालमा नेपालमा पुनः हुन थालेको प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीबाट औपचारिक उद्घाटन १५ मंसिरमा हुने भएपनि प्रतियोगितात्मक खेलहरु आज (बुधबार) बाट नै शुरु हुन लागेको हो । 

जस अनुसार भलिबल प्रतियोगिता आजवाट शुरु हुन लागेको हो । तालिका अनुसार आज महिलाको दुई र पुरुषको एक गरी तीन खेल हुनेछन् । उदघाटन खेलमा नेपाली महिला भलिबल टोलीले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । पुरुष भलिबल टोलीले पनि पहिलो खेलमा बंगलादेशलाई नै प्रतिद्वन्द्वी पाएको छ ।

महिलातर्फको अर्को खेलमा माल्दिभ्स र पाकिस्तानले प्रतिस्पर्धा गर्ने कार्यतालिका आजको छ । भालिबलमा सहभागी हुने सबै राष्ट्रका खेलाडी टोली नेपाल आइसके पनि भारतीय टोली आइपुगेको छैन । उसको सहभागिताका विषयमा अझै अन्यौल नै छ । आउने नआउने विषयमा कुनै जानकारी दिईसकेको छैन । तर नाम दर्ता भने भारतीय पक्षले गरेको छ ।

महिला र पुरुष दुबैतर्फ भारत र बंगलादेशसँगै नेपाल समूह ‘ए’ मा छ । समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स र पाकिस्तान छन् । पछिल्लो पटक सन् १९९९ मा नेपालले दोस्रो पटक सागको आयोजना गरेको थियो । त्यसपछि यसपटक नेपालले सागको तेश्रोपटक आयोजना गर्न लागेको हो ।  नेपालबाट सन् १९८४ मा पहिलो पटक साग आयोजना गरेको थियो । 

प्रतिक्रिया दिनुहोस