अन्ततः झुके नीजि मेडिकल कलेज, अवैध उठाइएको शुल्क फिर्ता हुने

सफल खबर संवाददाता

बुधबार, ११ मंसिर २०७६, ०८ : ४६
अन्ततः झुके नीजि मेडिकल कलेज, अवैध उठाइएको शुल्क फिर्ता हुने

काठमाडौं । विद्यार्थी र अभिभावकसँग असुलेको चर्काे शुल्क फिर्ता गर्न अटेरी गरिरहेका निजी मेडिकल कलेजका सञ्चालकहरु अन्ततः झुक्न बाध्य भएका छन् । सरकारले मापदण्ड विपरित अुसुलेका रकम ठगी नै भएको ठहर गदै फिर्ता नगरे बुधबार (आज) बाट कानुनी कारवाही थाल्ने तयारी थालेपछि निजी कलेज सञ्चालकहरु रकम फिर्ता गर्न बाध्य भई सहमतिमा पुगेका हुन् ।

मंगलवार दिउँसो सम्म शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदै शुल्क फिर्ता गर्न अटेरी गरिरहेका नीजि मेडिकल कलेजका सञ्चालकहरु शिक्षा र गृहमन्त्रालयको संयुक्त बैठकले कारवाही तयारी थालेपछि सहमतिमा आउन बाध्य भएका थिए । मंगलवार राती ११ वजेसम्म शिक्षामन्त्रालयमा भएको मन्त्रालय र निजि मेडिकल कलेजका सञ्चालकहरुको बैठकले अन्ततः आफुहरुले लिएको बढी रकम फिर्ता गर्ने गरी दुई बुँदे सहमति पत्रमा हस्ताक्षर गर्न पुगेका हुन् ।

सहमति अनुसार अब  निजी मेडिकल कलेजहरुले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने हुन्छ । सहमतिअनुसार नीजि कलेज सञ्चालकहरुले बुधबार (आज) बाटै यसअघि लिइएको अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया सुरु गर्नेछन् । सहमतिको अर्को बुँदामा भने ०७२÷०७३ र ०७३÷०७४ को हकमा चिकित्सा शिक्षा आयोगले उपयुक्त निर्णय गर्ने भनिएको छ ।

प्रधानमन्त्री केपी ओली समेतले १ मंसिरमा पार्टी निकट युवा संगठनको कार्यक्रममा निजि मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता नगरे कारवाही गर्ने चेतावनी दिएका थिए । ओलीले भनेका थिए,– ‘कुनै पनि मेडिकल कलेज, नियम कानुनभित्र बस्नुपर्छ, कति लागतमा विद्यार्थी पढाउन सकिन्छ ,कति पर्न जान्छ, सबै कुराको हिसाब गर्न सक्छौं र तोक्न सक्छौं । त्यसका लागि हामीले समिति बनाएका छौं ।

सरकारले भनेको भन्दा अनुचित गोप्य ढंगले ठगी गरेको पैसा सरकारले फिर्ता गर्छ । सरकारलाई छलेर गोप्य ढंगले कसैले लिन्छ भने त्यो ठगी हो, सरकारलाई त्यो सैहय हुदैन ।’ प्रधानमन्त्री ओलीले गृह र शिक्षा मन्त्रालयलाई निर्देशन दिएपछि दुबै मन्त्रालय तातिएका थिए । यस अगाडी, नीजि कलेज सञ्चालकलाई आफुले असुलेको बढी शुल्क फिर्ता लिन सरकारले एक महिने, १५ दिने र १ दिने अल्टिमेटम दिएको थियो । मंगलवार राती चौतर्फी दबाव पछि नीजि मेडिकल कलेजका सञ्चालकहरु शुल्क फिर्ता गर्ने सहमतिमा पुगेका हुन् ।


 


 

प्रतिक्रिया दिनुहोस