भेन्टिलेटरमा प्रधानमन्त्री, मध्यरातमा बल्ल होस, आजै पाचौं पटक मृगौलाको पनि डायलाइसिसको तयारी

एपेण्डिसाईटिस फुटेपछिको अवस्थामा मंगलबार शल्यक्रिया

सफल खबर संवाददाता

बुधबार, ११ मंसिर २०७६, ०८ : ०८
भेन्टिलेटरमा प्रधानमन्त्री, मध्यरातमा बल्ल होस,  आजै पाचौं पटक मृगौलाको पनि डायलाइसिसको तयारी

File photo

काठमाडौं । ‘एपेन्डिसाइटिस’को इमजेन्सी शल्यक्रियाका लागि पूर्ण बेहोस वनाईएका प्रधानमन्त्री केपी ओली मंगलबार मध्यरात मात्र होस आए । उपचारमा संलग्न एक चिकित्सकका अनुसार, होस खुलेपछि प्रधानमन्त्री ओली अलि–अलि कमान्ड फलो गर्न थालेका छन् । तर उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ । 

अस्पतालले जारी गरेको दुईवटा विज्ञप्तीमै पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख गरिएको छ । उनको होस खुलेर सामान्य कमाण्ड फलो गर्न थालेपनि शल्यक्रिया पछि भेन्टिलेटरमा राखेर सघन उपचार भइरहेको छ । ओली असाध्यै पेट दुखेपछि मंगलवार विहान उपचारका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए । उनलाई अस्पताल पुग्ने बित्तिकै चिकित्सकहरुले भर्ना गरेका थिए । १२ वर्ष देखि मृगौला रोगसँग जुध्दै आएका प्रधानमन्त्री ओलीलाई मंगलवार ‘एपेन्डिसाइटिस भएको थियो । त्यो पनि फुटेको अवस्थामा ।

‘एपेन्डिसाइटिस फुटेपछि उनलाई पेरिटनाइटिस (पेटको संक्रमण) समेत देखिएको थियो । जसकारण चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई ‘ल्यापरोटोमी (पेटलाइ पुरा चिरेर गरिने शल्यक्रिया)’ र ‘एपेन्डेक्टोमी (एपेन्डिसाइटिस हटाउने शल्यक्रिया)’  गर्नुपरेको चिकित्सकहरुले बताएका छन् । अस्पताल र उनको नीजि सचिवालयले प्रधानमन्त्रीको शल्यक्रिया सफल भएको र अवस्था स्थिर रहेको सार्वजनिक अभिब्यक्ति दिएपनि थप अवस्थाका बारेमा भने केही खुलाएका छैनन् । उनलाई भेन्टिलेटरमा राखेर सघन उपचार भईरहेको विषय पनि अस्पताल र उनको नीजि सचिवालयले लुकाईरहेको छ ।

ओलीको शिक्षण अस्पतालका ग्यास्ट्रोइन्टेस्टाइनल तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. रमेशसिंह भण्डारीको नेतृत्वमा शल्यक्रिया गरिएको थियो । ओलीलाई अहिले  ‘आइनोटोपिक सपोर्ट’ (रक्तचापलाई नियन्त्रणमा राख्ने) तिन प्रकारका औषधी दिईएको छ । उपचारमा संलग्न चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई केहिबेर भेन्टिलेरमा राखेर पछि बाहिर निकाल्ने योजना बनाएका थिए । तर ओलीलाई ‘ब्रोड स्पेक्ट्रम एन्टिबायोटिक’ (विभिन्न प्रकारका संक्रमणहरूमा प्रभावकारी हुने औषधी) दिइएको छ ।

‘एपेन्डिसाइटिसका कारण अहिले उपचारमा रहेपनि ओलीलाई बुधबार बिहान पून पाचौं पटक त्रिवि अस्पतालमै डायलाइसिस गर्ने तयारी थालिएको अस्पताल स्रोतले जनाएको छ । ओलीलाई होस नखुलेपनि नेकपाका उच्च नेताहरुले मंगलवार नै त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य अवस्थाका बारेमा चिकित्सकहरुसँग जानकारी लिएका थिए । शल्यक्रिया लगतै गृहमन्त्री रामवहादुर थापा उनको स्वास्थ्य अवस्था वुझ्न अस्पताल पुगेका थिए ।

नेकपाका अध्यक्ष प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र महासचिव विष्णु पौडेल भने मंगलवार बाराको निजगढमा आयोजित एक कार्यक्रममा सहभागी भएका कारण त्यहाँवाट काठमाडौं फर्के लगत्तै एयरपोर्टबाट सिधै अस्पताल पुगेका थिए । अस्पतालमा नेताहरुले प्रधानमन्त्रीलाई राखिएको स्थानको निरक्षिण गरेपछि चिकित्सकहरुले ब्रिफिङ गरेका थिए । 

प्रतिक्रिया दिनुहोस