खानेपानी तथा सरसफाइका आयोजनाहरुमा लगानी गर्न कतार विकास कोष इच्छुक

सफल खबर संवाददाता

मंगलबार, १० मंसिर २०७६, १६ : ५९
खानेपानी तथा सरसफाइका आयोजनाहरुमा लगानी गर्न कतार विकास कोष इच्छुक

काठमाडौं । कतार विकास कोष कतार फण्ड फर डेभलपमेन्टले नेपालका साना तथा मझौला खानेपानी र सरसफाइका आयोजनाहरुमा लगानी गर्न इच्छा व्यक्त गरेको छ । 

खानेपानी मन्त्रालय सिंहदरबारमा मंगलबार खानेपानी मन्त्री बिना मगरसँग भएको भेटघाटमा कोषका प्रतिनिधिमण्डलले खानेपानी तथा सरसफाइका आयोजनाहरुमा लगानी जुटाउने इच्छा व्यक्त गरेका हुन् । कतार फण्ड फर डेभलपमेन्टको तर्फबाट रिम अल सुलैतीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले साना तथा मझौला आयोजनाहरुमा नेपाललाई अनुदान सहयोग गर्ने बताएको छ । 

भेटमा मन्त्री मगरले खानेपानी जस्तो विषय मानिसको आधारभूत आवश्यकतासँग जोडिएकाले कोषले देखाएको सहयोगको इच्छाप्रति टोलीलाई धन्यवाद दिनुभयो । नेपाल सरकार कोषसँग साझेदार भई कार्य गर्न इच्छुक रहेको उहाँले बताउनुभयो ।

‘आवश्यकता भएका र कार्यान्वयन गर्न सक्ने योजनाहरु छनौट गरेर हामी अघि बढ्न सक्छौं ।’ उहाँले भन्नुभयो, ‘चाँडो कार्यान्वयन हुन सक्ने आयोजनाहरुलाई प्राथमिकता दिएर अघि बढिरहेका छौं । कतार विकास कोषसँग मिलेर हामी सँगसँगै सहकार्य गर्न तयार छौं ।’

कोषको तर्फबाट सहभागी हुनु भएकी सुलैतीले शिक्षा र स्वास्थ्यजस्तै स्वच्छ खानेपानी र दिगो सरसफाइका लागि सहयोग गर्न कोष तयार रहेको बताउनुभयो । ‘सम्भाव्यता अध्ययन भईसकेका चाँडो कार्यान्वयनमा जान सक्ने आयोजनाहरुमा सहयोग गर्ने हाम्रो इच्छा छ ।’ सुलैतीले भन्नुभयो, ‘यस्ता आयोजनाहरुमा लगानी जुटाउन हामी अन्य साझेदारी संस्थासँग मिलेर पनि जान सक्छौं । दिगोपना, क्षमता विकास र रोजगारी सिर्जना गर्ने खालका आयोजनाहरुमा हाम्रो ध्यान केन्द्रित हुनेछ ।’

प्रतिक्रिया दिनुहोस