चितवन । यही मंसिर १४ गते चितवन जिल्लाको तीन वडामा उपनिर्वाचन हुँदैछ । खैरहनी नगरपालिकाको दुई वटा वडा ४ र ५ मा र भरतपुर महानगरपालिकाको वडा नं १६ मा उपनिर्वाचन हुन लागेको हो ।
चितवनको यी तीन वटा वडामा वडाध्यक्षको निधनपछि उपनिर्वाचन हुन लागेको हो । खैरहनी ४ का वडाध्यक्ष नरेन्द्रनाथ अधिकारी र वडा नं ५ का वडाध्यक्ष विश्वविजय बस्नेतको दुर्घटनामा निधन भएपछि यी दुई वडामा उपनिर्वाचन हुन लागेको हो ।
भरतपुर १६ का वडाध्यक्ष चतुरमान गुरुङको क्यान्सर रोगका कारण निधन भएको हो । चितवन जिल्लामा १५ वटा पद रिक्त रहे पनि तीन वटा वडाको वडाध्यक्षको लागि मात्र उपनिर्वाचन हुन लागेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।
प्रतिस्पर्धा नेकपा र कांग्रेसकै
चितवनको उपनिर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । ठूला दल भनिएका सत्तारुढ पार्टी नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
कांग्रेसलाई यसअघि गुमेको चितवनको साख फिर्ता ल्याउनु छ भने नेकपालाई यस अघि जोडिएको आफ्नो साखलाई जोगाइराख्नु छ । त्यसैले दुबै दल कडा रुपमा जनतासामु प्रस्तुत भएका छन् । चुनावी सभामा होमिएका छन् ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा नेकपाले भरतपुर १६ मा चुनावी सभा गरिसकेको छ भने नेपाली कांग्रेसले पनि युवा नेता गगनकुमार थापाको उपस्थितिमा खैरहनीमा चुनावी सभा गर्दैछ ।
कस्ता छन् उम्मेदवार ?
तीन वटा वडामा तिहारपछि चुनावी रौनक सुरु भएको हो । दलहरुले कोणसभा र घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दल कांग्रेस उम्मेदवारसहित विकासका एजेण्डा लिएर चुनावमा होमिएका छन् ।
भरतपुर १६ मा नेकपाबाट भक्तराज हमाल उम्मेदवार रहेका छन् ।
मृदुभाषी, विकासप्रेमी हमाल वडावासीले रुचाएका नेकपाका पुराना नेता मानिन्छन् । हमाल स्थानीय विभिन्न संघसंगठनमा रहेर काम गरेका इमान्दार नेता पनि हुन् । नेपाली कांग्रेसले भरतपुर–१६ मा अमृतराज हमाललाई उम्मेदवार बनाएको छ । भरतपुर १६ मा दुबै हमालबीच प्रतिस्पर्धा हुँदैछ ।
भरतपुर १६ मा राष्ट्रिय नागरिक पार्टीका धनप्रसाद घले, राप्रपा संयुक्तका विष्णुप्रसाद त्रिपाठी, समाजवादी पार्टीका अमरबहादुर थापाले उम्मेदवारी दिएका छन् । उनीहरु पनि अनुभवी, विकासप्रेमी नेताको रुपमा चिनिन्छन् ।
नेकपाले खैरहनी नगरपालिका वडा नं ४ मा बेदबहादुर अधिकारी र वडा नं ५ मा पुननारायण प्रधानलाई उम्मेदवार बनाएको छ । नेकपाका दुबै उम्मेदवार पार्टीका सक्रिय कार्यकर्ता, इमान्दार र नयाँ भिजन भएका नेता रहेका जिल्ला अध्यक्ष यमबहादुर परियारले बताए । उनले तीन वटा वडामा नेकपाको जित सुनिश्चित रहेको दावीसमेत गरे । नेकपाले अध्यक्ष परियारको संयोजकत्वमा २५१ सदस्यीय जिल्लास्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
नेकपाको नेता तेजेन्द्रबहादुर खड्काको संयोजकत्वमा १५ सदस्यीय जिल्ला प्रचार–प्रसार समिति गठन गरेको छ । यस्तै सम्बन्धित वडामा समेत निर्वाचन परिचालन समिति गठन भएको छ । राष्ट्रियसभाकी सांसद पार्वती रावल संयोजक र अञ्जन तिमिल्सिना उपसंयोजक रहेको १५१ सदस्यीय भरतपुर–१६ निर्वाचन परिचालन कमिटि बनाइएको छ ।
त्यस्तै, खैरहनी नगरपालिका वडा नं ४ मा कमल पाठक संयोजक र रामेश्वर पोखरेल उपसंयोजक र सोही नगरपालिकाको वडा नं ५ मा जगन्नाथ आचार्य संयोजक र झगरु चौधरी उपसंयोजक रहेको १५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको छ ।
कांग्रेसले खैरहनी नगरपालिका–४ मा देवबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ । उनी सोही वडाका निर्वाचित वडा सदस्य पनि हुन् । वडा नं ५ मा प्रतिमा कार्की बस्नेतलाई उम्मेदवार बनाएको छ । खैरहनी वडा नं ५ मा यसअघिका उम्मेदवार विश्वविजय बस्नेतकी श्रीमती प्रतिमालाई उम्मेदवार बनाएको छ । उनीले नेविसंघबाट राजनीति सुरु गरेकी थिइन् । कांग्रेसले उपनिर्वाचन हुने तीन वटा वडामा समितिहरु बनाएर निर्वाचनमा होमिएको जनाएको छ ।
खैरहनी ४ मा राप्रपाका अनोज अधिकारी, राप्रपा संयुक्तका सीताराम थापाले समेत उम्मेदवारी दिएका छन् । खैरहनी ५ मा राष्ट्रिय नागरिक पार्टीका बलराम चौधरी, समाजवादी पार्टीका विकल महतो थारुले पनि उम्मेदवारी दिएका छन् ।
भरतपुर १६ मा राष्ट्रिय नागरिक पार्टीका धनप्रसाद घले, राप्रपा संयुक्तका विष्णुप्रसाद त्रिपाठी, समाजवादीका अमरबहादुर थापाले उम्मेदवारी दिएका छन् ।
कसले जित्ला ?
तीन वटा वडामा नेकपा र कांग्रेसले आफूले जित्ने दावी गरेका छन् । खैरहनी नगरपालिकाको ४ र ५ नं वडा यसअघि नेपाली कांग्रेसका उम्मेदवारले जितेको वडा हो । कांग्रेसले उपनिर्वाचनमा आफूले जितेको खैरहनीको दुबै वडा र भरतपुर १६ सहित तीन वटा वडा जित्ने दावी गरेको छ ।
कांग्रेसलाई यसअघि आफूले जितेको खैरहनीका दुवै वडा जसरी पनि जित्नैपर्ने दबाब छ भने यसअघि तत्कालीन एमालेबाट जितेको वडा भरतपुर १६ जसरी पनि जित्नपर्ने नेकपालाई दबाब छ । तर दुबै दल तीन वटा वडा हत्याउने दाउमा छन् ।
चितवनको उपनिर्वाचनमा नेकपाले तीन वटा वडा नजिते उसलाई आगामी चुनावमा धक्का लाग्न सक्ने विश्लेषण भएको छ भने यसपटक पनि कांग्रेस पराजय भए आगामी चुनावमा उसलाई जित्न ठूलो सकस हुने देखिन्छ । त्यसकारण पनि दुबै दल चुनावी मैदानमा कडा रुपमा होमिएका छन् । तीन वटा वडामा उम्मेदवार अन्य दलहरुले पनि दिएका छन्, तर मतदाताका अनुसार प्रतिस्पर्धा नेकपा र कांग्रेसबीच नै हुनेछ ।
खैरहनी– ४ मा कांग्रेसबाट उम्मेदवार बनेका देवबहादुर वस्नेत सोही वडाका पार्टी कार्यवाहक अध्यक्ष हुन् । नेकपाबाट उम्मेदवार बनेका बेदबहादुर अधिकारी पूर्वएमाले हुन् । अघिल्लो पटकको निर्वाचनमा कांग्रेस र एमालेको मतान्तर कम भएको र माओवादी केन्द्रको पनि मत राम्रै रहेका कारण यहाँको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
०७४ सालमा कांग्रेसका नरेन्द्रनाथ अधिकारीले ७३५ मत ल्याएर जित्दा तत्कालिन एमालेका जगतबहादुर रानाले ६७१ र माओवादीका दलबहादुर बस्नेतले ३८६ मत ल्याएका थिए । यस वडामा मतदाता ३७७ जना थपिएका छन् ।
खैरहनी– ५ मा ०७४ को निर्वाचनमा यस वडामा कांग्रेसका विश्वविजय वस्नेतले ६२७ मत ल्याएर विजयी बन्दा एमालेका जोगिराम चौधरीले ३९८ र माओवादीका लक्ष्मण सुवेदीले २७३ मत ल्याएका थिए । यस वडामा ०७४ मा १ हजार ७८५ मतदाता रहेकोमा हाल बढेर २ हजार १११ पुगेको छ ।
भरतपुर–१६ मा कांग्रेसबाट उम्मेदवार बनेका अमृतराज हमाल गत स्थानीय तहको निर्वाचनमा पनि पराजित उम्मेदवार हुन् । ०७४ सालमा तत्कालीन एमाले उम्मेदवार चतुरमान गुरुङले कांग्रेसका उम्मेदवार हमाललाई ६४ मतको झिनो अन्तरले पराजित गरेका थिए ।
चतुरमानले २ हजार १३२ मत ल्याएर जित्दा कांग्रेसका हमालले २ हजार ६८ मत ल्याए । माओवादी केन्द्रका कृष्ण पुडासैनीले ९ सय ८९ मत प्राप्त गरेका थिए । ०७४ सालमा यस वडामा कुल ७ हजार २५६ जना मतदाता रहेकोमा ५ हजार ७२३ मत खसेको थियो । हाल मतदाता संख्या बढेर ८ हजार ४८१ पुगेको छ ।
यस वडामा १ हजार २२५ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएका छन् । मतदाता मंसिर १४ गते मत हाल्नलाई आतुर छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० मंसिर २०७६, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बझाङ उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस
राजनीतिक मैदानको मूल खेलाडी एमाले र काँग्रेस मात्रै रहेको पुष्टि : गोकुल बास्कोटा
३४ हजार गणना हुँदा रास्वपाका उम्मेदवार लिम्बुले पाए १९४५ मत
बझाङमा नेकपा एसको धरौटी जफत
इलाम–२ मा सुहाङलाई निरन्तर अग्रता, कांग्रेससँग मतान्तर घटाउँदै थेगिम
झण्डै २२ हजार मत गन्दा पनि डाक प्रसादको शून्य मत !