हिन्दुराष्ट्र पुनःस्थापना गर्न राप्रपाले मत पाउनुपर्छ : बुद्धिमान तामाङ

सफल खबर संवाददाता

शनिबार, ०७ मंसिर २०७६, १५ : ३१
हिन्दुराष्ट्र पुनःस्थापना गर्न राप्रपाले मत पाउनुपर्छ : बुद्धिमान तामाङ

पोखरा । राप्रपाका कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङले नेपाललाई सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्न राप्रपाले मत पाउनुपर्ने जिकिर गरेका छन् । 
आज प्रतिनिधिसभा अन्तर्गत कास्कीको क्षेत्र नं २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता तामाङले आफू बौद्ध धर्मावलम्बी भएपनि नेपाल हिन्दु राष्ट्र भनेर हिँडिरहेको तर जन्मले, कर्मले हिन्दु रहेकाहरु उदासीन भएकोमा आश्चर्य प्रकट गरे । 

संविधानसभाले संविधान निर्माण गर्ने बेला आम जनताले सुझावको रुपमा दिएको पोको नफुकाइ संविधानमा जबर्जस्ती धर्म निरपेक्ष कायम गरिएको र जनताले हिन्दु राष्ट्र हुनुपर्ने सुझाव दिएको पनि तामाङले बताए ।
कांग्रेस र कम्युनिस्ट असफल हुँदै गएको र फेरि पनि असफल दललाई नै मत दिने हो भने जनताले परिणामको रुपमा असफलता नै प्राप्त गर्ने हुनाले सोचेर मतदान गर्न पनि नेता तामाङले मतदातालाई आग्रह गरे । 

राप्रपा गण्डकी प्रदेश प्रमुख हेमजङ्ग गुरुङले जातजातिको नाममा विभाजन ल्याउन चाहने शक्तिले अनुकूल समयमा फेरि पनि त्यो मुद्दाको पुनरावृत्ति गर्न सक्ने भएकाले जनता सचेत भएर राष्ट्रियता र राष्ट्रिय एकताको लागि एकजुट हुनुपर्ने बताए ।
राप्रपाको तर्फबाट उमेदवार रोमबहादुर भण्डारीले जनताको सुख दु:खमा उमेदवार हुँदा पनि र नहुँदा पनि आफू अनवरत क्रियाशील भएको भन्दै आफ्नो कुनै निजी स्वार्थ नरहेकाले कास्कीको समग्र विकासका लागि आफू उपयुक्त र जनताको उमेदवार रहेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस