हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

आइतबार, ०१ मंसिर २०७६, १३ : ११
हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् : प्रधानमन्त्री ओली

File photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कालापानी र लिपुलेकबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् ।

नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको भन्दै यो सरकारले बिदेशी फौज फिर्ता गराउने समेत प्रष्ट पारेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्रीले नेपाली भूमिबाट विदेशी सेना फिर्ता पाठाउनुपर्ने भन्दै सरकारले त्यसका लागि आवश्यक गृहकार्य समेत थालिसकेको बताए ।

आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने भन्दै उनले कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । उनले सिमाना अहिले आएर नमिचिएको भन्दै यसअघिका शासकको कमजोरीका कारण मिचिएको भूभाग फिर्ता लिन अहिलेको सरकार सक्षम रहेको बताए ।

‘हामी आफ्नो भुमी एक इन्च पनि मिच्न दिदैनौ । अरुको जमिन चाहिदैन । तर हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् । सरकार सम्वाद गर्न नसक्ने अवस्थामा छैन र विदेशी फौज फिर्ता गराउछ । सीमा अहिले मिचिएको होइन । तर यो विषयमा अहिले राष्ट्रिय एकता कायम गर्न हामी सफल भएका छौं ।’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालको गरिमा बढेको छ । महत्वपूर्ण शक्ति राष्ट्र प्रमुखको भ्रमण लगातार भइरहेको छ । इतिहासमा यस्तो हुदैनथ्यो । अहिले नेपालको कुरा सुनिन थालेको छ ।’

प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा सुनिन थालेको भन्दै राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालको गरिमा बढेको बताए । उनले केही वर्ष अघिसम्म राष्ट्रियताको पक्षमा सरकार हुनु भनेको मृगतृष्णा हुन्थ्यो भन्दै अहिले नेपाल त्यो अवस्थामा नरहेको बताए ।

‘सरकारका विरुद्ध केही प्रश्न उठेका छन् । यसमा केही सकारात्मक कुरा पनि उठेका छन् । कालापानीमा अहिले भारतले फौज राखेको होइन, सीमा पनि अहिले मिचेको होइन । तर कतिले अहिले नै मिचेको जस्तो गरेर रउचालेका छन् । तर सजगता र प्रतिवद्धता अनि राष्ट्रिय एकता देखियो खुसी र सकारात्मक कुरा हो,’ प्रधानमन्त्रीको भनाइ छ । उनले अहिलेको सरकार नेपाली जनताको र देशभक्त सरकार भएकाले आफ्नो भूमि एक इन्च पनि मिच्न नदिने र अरुको जमिन पनि आफूहरुलाई नचाहिएको बताए । 

‘हाम्रो भूमिमा अरुका सेना राख्न दिँदैनौ’, विश्व शान्तिको पक्षमा आफूहरु रहेको भन्दै उनले संवादको माध्यमबाटै समस्या समाधान गर्ने बताए ।

 ‘यो सरकार संवाद गर्न नसक्ने सरकार होइन, संवादमार्फत नै समस्या समाधान गर्छ । नेपाली भूमिबाट विदेशी सेना फिर्ता पठाउँछ । नक्सा प्रेसमा छाप्दा हुने भन्दै महत्त्वपूर्ण विषय आफ्नो भूमि फिर्ता गर्नु महत्त्वपूर्ण भएको बताए ।

प्रतिक्रिया दिनुहोस