उप चुनावका लागि स्थानीय तहमा उम्मेदवारी दर्ता आज

बुधबार, २७ कार्तिक २०७६, ०९ : ०७
उप चुनावका लागि स्थानीय तहमा उम्मेदवारी दर्ता आज

काठमाडौं । उपनिर्वाचनका लागि स्थानीय तहमा (आज) बुधबार मनोनयन दर्ता हुँदैछ । १४ मंसिरमा हुने स्थानिय तह उप निर्वाचनका लागि अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तह अन्तर्गत एक नगर प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाअध्यक्षका लागि उपनिर्वाचन हुने छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि कात्तिक २१ गते नै मनोनयन दर्ता गरिएको थियो । बिभिन्न कारणले रिक्त ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो । ३७ जिल्लामा हुने उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहको प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ पदमा जनप्रतिनिधि चुनिने छन् ।

उपनिर्वाचनमा भाग लिने दलहरूको संख्या १०१ छ । तीमध्ये सीके राउतको पार्टीसहित १६ नयाँ दल छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका चुनावका लागि निर्वाचन आयोगलेउम्मेदवारहरुलाई चुनाव चिह्न समेत वितरण गरिसकेको छ । प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका लागि मनोनयन दर्ताको मिति अलग–अलग भए पनि मतदान भने सबैको मंसिर १४ गते नै हुनेछ । उपनिर्वाचनका लागि निर्वाचन आयोगले २४७ मतदानस्थल र ५३७ मतदान केन्द्र तोकेको छ । यस्तै मुख्य निर्वाचन अधिकृत ३७ र निर्वाचन अधिकृत ११ जना नियुक्त गरिएको छ । 

प्रतिक्रिया दिनुहोस