काठमाडौं । आज छठको मुख्य दिन हो । भक्तआज प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइने छठ पर्व आज बेलुकी मनाइँदैछ ।
छठ पर्वको तेस्रोअर्थात् मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बिहीबारदेखि शुरु भएको हो ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुवात् भएको विश्वास गरिन्छ ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।
साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।
यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउँछन् ।
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर ९खरना ० षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको रामशरण यादवले बताए ।
“षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ”, उनले भने । कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आरधना गरी अर्घ्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ ।
विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । २०४६ सालदेखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ कार्तिक २०७६, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न
छठ पर्व आजदेखि विधिपूर्वक सुरु
छठका लागि पोखरी, ताल र नदी किनार सजाइँदै
घडीअर्वा पोखरीमा छठको तयारी थालियो
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न