जोलीलाई उत्कृष्ट प्रहरी कुकुरको अवार्ड, जसले पत्ता लगाएको थियो पूर्वराजदूत केशव झाको हत्यारा

सफल खबर संवाददाता

आइतबार, १० कार्तिक २०७६, १४ : ५५
जोलीलाई उत्कृष्ट प्रहरी कुकुरको अवार्ड, जसले पत्ता लगाएको थियो पूर्वराजदूत केशव झाको हत्यारा

काठमाडौँ । पूर्वराजदूत केशव झाको हत्या भएको घटनाको अनुसन्धानमा सहयोग गर्ने जोली नामको कुकुर  उत्कृष्ट कुकुर घोषित भएको छ ।
पूर्वराजदूत केशव झाको हत्या भएको घटनामा प्रहरी चर्को आलोचना भइरहेको बेला घटनाका एक वर्षपछि एकाएक एउटा समाचार भाइरल भयो, ‘झाको हत्या गर्ने अभियुक्त भदौ २५ गते जेल चलान भए ।’ पूर्वराजदूत झाको २०७५ भदौ ३ गते आफ्नै निवासमा हत्या भएको थियो । 

तर, झाको घटनामा प्रहरीले पाएको ‘सफलता’ मा एउटा जनावरको अहम भूमिका थियो भन्ने कमैलाई थाहा छ । त्यो हो प्रहरीको ‘जोली’ नामक कुकुर । 

घटनालगत्तै, डग स्कुलबाट खटाइएको ‘जोली’ नामक कुकुरको सहयोगमा अभियुक्तसम्म प्रहरी पुगेको थियो । झाकै घरमा सहयोगी रहेका सानुकान्छा तामाङसमक्ष जोली पुगेको थियो । 

अपराधीको खोजी तथा पहिचानमा अब्बल ब्लडहाउड जातको जोलीलाई घटनामा प्रयोग भएको चक्कु सुँघाइएको थियो । त्यसपछि जोलीले देखाएको ट्रयाकअनुसार प्रहरी अभियुक्तसम्म पुग्यो । 

हत्या, चोरी, डकैती, लुटपाट, अपहरण जस्ता आपराधिक घटनाको अनुसन्धानमा सघाएर जोलीले आफूलाई अब्बल सावित गरिसकेको छ । यही कारण नेपाल प्रहरीमा कुकुर स्कुल स्थापना भएको ५१ वर्षको अवसरमा जोलीले ‘बेस्ट डग अफ द एयर’ को सम्मान पाएको छ ।

यमपञ्चकको दोस्रो दिन कुकुर तिहारको दिन आज नेपाल प्रहरीको केन्द्रीय कुकुर विद्यालयले आयोजना गरेको कार्यक्रममा स्कुल प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) देउती गुरुङले जोनीलाई ‘बेष्ट डग’ लेखिएको मेडल लगाइदिइन् ।

यस्तै बेल्जियम मेलिना प्रजातीको कुकुरले दौड र हाइजम्मामा पहिलो भएको छ र, दुई वटा मेडल पाएको छ । कुकर तिहारको अवसर पारेर प्रहरीको केन्द्रीय कुकुर विद्यालयले विभिन्न प्रतियोगिता आयोजना गर्छ र पहिलो हुनेलाई मेडल दिन्छ ।
 

प्रतिक्रिया दिनुहोस