मनाइयो कुकुर तिहार

आइतबार, १० कार्तिक २०७६, १३ : २५
मनाइयो कुकुर तिहार

काठमाडौँ । यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । 

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमासमेत स्थापित भएको भन्ने विश्वास छ ।
 
नरक चतुर्दशी स्नान, दीपदान
आज बिहान अरुणोदयकालमा नदी, तलाउ वा धारामा गई स्नान गरेर सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने कार्य पनि वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेका छन् । यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ ।
    
आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । यसैकारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । 
  
कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको हो । यसवर्ष कात्तिक ८ गते शुक्रबारदेखि यमपञ्चक अर्थात् तिहार शुरु भएको हो । 
 
तिथिको घटबढकै कारण आज बेलुकी लक्ष्मीपूजा परेको छ । बिहान चतुर्दशी भएका दिन कुकुर तिहार एवं नरक चतुर्दशी मनाउपर्छ । यसैगरी सायंकालमा औँसी तिथि भएका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय मत छ ।
 
यसैगरी नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्ती पनि आज विविध कार्यक्रम गरी मनाइँदैछ ।  (रासस) 

प्रतिक्रिया दिनुहोस