भरतपुरलाई छिट्टै सडकमानवरहित बनाइनेछ : महानगर प्रमुख दाहाल

सफल खबर संवाददाता

बुधबार, २९ असोज २०७६, ०८ : ३९
भरतपुरलाई छिट्टै सडकमानवरहित बनाइनेछ : महानगर प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिकाले भरतपुरलाई सडकमानवरहित बनाउने तयारी थालेको छ ।
महानगरपालिकाकी प्रमुख रेनु दहालले महानगरपालिकालाई बेसहारा अभिभावकविहिन सडकमानवरहित महानगर घोषणा गर्ने गरी आन्तरिक तयारी थालिएको जानकारी दिनुभयो । यस कार्यमा भरतपुर–१० आँखा अस्पताल नजिकै रहेको मानवसेवा आश्रमले  महानगरपालिकालाई सघाउँदै आइरहेको उहाँको भनाइ छ । 

महानगरपालिकाले केही समय अघिमात्र महानगर क्षेत्रभित्र र कार्यरत विभिन्न सरोकारवाला निकायहरूसँगको अभिभावकविहिन सहयोगापेक्षी सडकमानव मुक्त महानगर घोषणा गर्ने बारेमा पहिलो चरणको अन्तरक्रिया सम्पन्न गरिसकेको छ । यस क्षेत्रलाई बेसहारा सहयोगापेक्षी सडकमानवरहित महानगर घोषणा गराउने नीति समेत पारित भइसकेको छ । 

सडकमानवरहित बनाउनको लागि सोमबार राति ८ बजेदेखि ११ बजेसम्म भरतपुर महानगरपालिकाको शहरी क्षेत्रभित्र रहेका सडकमानवहरूको अवस्था अध्ययन तथा उद्धार गरिएको थियो । 

सोमबार सडकमानवहरूको उद्धार तथा रात्रीकालिन अवस्था अध्ययनको क्रममा ४० जनालाई मानवसेवा आश्रम चितवन शाखामा ल्याइएको मानव सेवा आश्रमले जनाएको छ । जसमध्ये २ जनामात्र वास्तविक सहयोगापेक्षी रहेका थिए । अन्यलाई नेपाल प्रहरी, आश्रम र महानगरपालिकाले घर परिवार भएकाहरूलाई पुन सडकमा अस्तव्यस्त जीवनशैली नबिताउने शर्तमा घर फिर्ता पठाएका छन् । 

उद्धारकार्यमा महानगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, जनिप्रतिनिधि, मानवसेवा आश्रमका पदाधिकारी लगायत अन्य सरोकारवाला निकाय एवं सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस