महरालाई अदालतमा उपस्थित गराइयो

मंगलबार, २८ असोज २०७६, ११ : ४८
महरालाई अदालतमा उपस्थित गराइयो

फाइल फोटो

काठमाडौं । बलात्कार प्रकरणमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । 
प्रहरीले महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास भएको भन्दै महानगरीय प्रहरी वृत्त वानेश्वरमा किटानी जाहेरी गरेपछि प्रहरीले महरालाई बालुवाटारस्थित सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरेको थियो । 
त्यसयता प्रहरी हिरासतमा रहेका उनलाई अदालत खुलेसँगै मंगलबार उपस्थित गराइएको हो । 

महराले असोज १२ गते रोशनीमाथि बलात्कार गरेको भन्दै हाम्रा कुरा डटकमले असोज १४ गते खुलासा गरेको थियो । सो खुलासापछि  महराले सभामुख पदबाट राजीनामा दिएका थिए । अहिले महराको सांसद पद समेत निलम्बनमा परेको छ ।

प्रतिक्रिया दिनुहोस