बाबुरामजी माओवादीमै आउनुहोस् : अध्यक्ष प्रचण्ड

बुधबार, २९ कार्तिक २०७४, १९ : १५
बाबुरामजी माओवादीमै आउनुहोस् : अध्यक्ष प्रचण्ड

गोरखा । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्तिका नेता एवं गोरखा क्षेत्र नं.–२ का उम्मेद्वार डा. बाबुराम भट्टराईलाई आफ्नो उम्मेद्वारी छोडेर माओवादीमै आउन अपील गर्नुभएको छ ।
बुधबार दिउँसो पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै गोरखाको भच्चेक पुग्नुभएका प्रचण्डले यस्तो अपील गर्नुभएको हो । भच्चेकको आम सभामा अध्यक्ष क. प्रचण्डले व्यक्त गर्नुभएको मन्तव्यको संक्षिप्त अंश।

म भर्खरै चितवनबाट आएँ, बिहान ११ बजेसम्म भरतपुरमा थिएँ । नयाँ शक्तिमा गएका धेरै साथीहरु र्फकने क्रम छ । देवेन्द्र पौडेलको नेतृत्वमा करिव-करिव सबै माओवादी फर्किए भन्दा पनि हुन्छ । आज बिहान मात्रै चितवनमा नयाँ शक्तिका बाँकी तीन दर्जन साथीहरुलाई टीको लगाएँ । उहाँहरुले भन्नुभो, सकियो नयाँ शक्ति ।
मलाई गोरखाली दिदीबहिनी दाजदाइका अगाडि उभिएर बाबुरामजीको कुरा गर्दा बडो नमीठो लाग्छ । अति भावुक पनि भएरआउँछु । मैले २५ वर्षदेखि बाबुरामजीलाई बचाउँदै बचाउँदै, जोगाउँदै जोगाउँदै ल्याएको थिएँ । धेरै ठूलो दुःख गरेर जोगाएको हो बाबुरामलाई ।
तर,पछिल्लो चरणमा बाबुरामलाई जोगाउन सकिएन, उहाँ फुत्किुनभयो । कहाँ जानुभयो कहाँ जानुभयो ? कम्युनिष्ट आन्दोलन छाडेर जानुभयो, विचार छोडेर जानुभयो, नैतिकता छोडेर जानु भयो । मलाई अहिले पनि उहाँको माया लाग्छ ।
म यो मञ्चबाट बाबुरामजीलाई भन्न चाहन्छु, खुरुक्क माओवादीमा फर्किनुस्, तपाईको भलो त्यसैमा छ । दायाँबायाँ गर्नुभयो भने घर न घाटको बन्नुहुन्छ । मलाई बढो पीर परेको छ । म अहिले पनि भन्छु, उम्मेदवारी छोड्दिनुस् । माओवादी, आन्दोलन, प्रचण्ड छोडेर गल्ती गरेँ भनेर आउनुस्, तपाईलाई स्वागत गर्न तयार छु । आउनुस्, उम्मेदवार छोडर आउनुस्, तपाईले जित्नु पनि हुन्न । तपाईलाई कांग्रेसले ठाउँ पनि दिन्न ।

तपाईलाई माया गर्ने हामी माओवादीले मात्र हो । अघि केपी ओलीजीले तल कता रछ्यानमा हुन्छ तपाईको ठाउँ भन्नुभयो । मलाई पनि लाग्छ कि कांग्रेसमै गए पनि तपाईलाई ठूलो नेता मान्दैनन् । अवसरवादी, विचार नभएको, विचलनमा परेको, बुद्धि नभएको भन्नेवाला छन् ।
मैले उहाँलाई भनेको पनि छु, तपाईले पढ्नुचाँहि भयो, ज्ञान हासिल गर्नुभयो । तर, कहाँ प्रयोग गर्ने बुद्धि भएन । ज्ञान भएको, बुद्धि नभएको मान्छे भन्ने गरेको छु मैले बाबुरामजीलाई ।
तपाईको पतन भएको मलाई रमाइलो लागेको छैन । हामी जनयुद्धमा सँगै हिड्यौं, शान्ति सम्झौता गर्‍यौं । अस्ति नारायणकाजी कमरेड र मेरो सल्लाह भएको थियो, उहाँ आउनुभयो भने २ नम्बरमा बाबुरामलाई दिनुपर्छ । बरु नारायणकाजी कमरेडलाई अर्को क्षेत्र खोजौंला । तर, उहाँको बुद्धि त पुगेन । कांग्रेससँग गठबन्धन गर्न पुग्नुभयो ।
बाबुरामजी घर न घाटको भएको रमाइलो लागेको छैन । म फेरि एक पटक भन्न चाहन्छु, यो नौटंकी गर्न छोडिदिनुस् । दुनियाँका अगााडि किन नाटक गर्नुहुन्छ ? देशभरि त हास्य पात्र भइसक्नुभएको छ । नयाँ शक्ति बनाएर के के न गर्छु, दिल्लीको जस्तो केजरीवाल हुन्छ भन्ने ठान्नुभएको थियो । नेपाल दिल्ली होइन, गोरखा दिल्ली होइन, तपाई केजरीवाल पनि होइन । यो हुनै नसक्ने कुरातिर तपाई किन लाग्नुभयो ? मेरो पुरानो सहयोद्धा यति धेरै पर किन गएको होला भन्ने मलाई चिन्ता छ ।
माओवादी पार्टीको यहाँ जबरजस्त संगठन छ । गोरखाली जनता २/४ पैसामा बिक्ने वाला पनि छैनन् । यदि तपाईलाई २/४ पैसा जम्मा गरेको छु, बाँड्छु र जित्छु भन्ने लागेको छ भने यो भ्रम हो । त्यो सपनाबाट ब्यूँझिनुस्, त्यसैमा तपाईको कल्याण छ । उम्मेदवारी छाडेर माओवादीमा आउनुभयो भने कसरी सम्बोधन गर्नुपर्छ हामीलाई थाहा छ ।
तर, यदि त्यसका लागि तपाई तयार हुनुभन्न भने भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिन्नँ भनेजस्तै तपाईको स्थिति हुनेछ हेर्दै जानुहोला । मेरो पुरानो मित्र हुनाले अझै सहानुभूति छ, आउनुस्, सँगै मिलेर काम गरौं । होइन भने त्यसको परिणाम कांग्रेसमा गएर पनि सुख पाउनुहुन्न ।

जनसभामा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नं.–२ मा जित्ने अवस्था नरहेको बताउँदै बाम आन्दोलनमै फर्कन भट्टराईलाई अपील गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष ओलीले नेपाली राजनीतिमा कांग्रेसको अस्तित्व कमजोर बन्दै गएको र शेरबहादुर देउवा नै कांग्रेसका अन्तिम प्रधानमन्त्री हुनसक्ने दावी गर्नुभयो ।
कार्यक्रममा गोरखा–२ का बाम उम्मेद्वार नारायणकाजी श्रेष्ठले गोरखामा आफ्नो जीत सुनिश्चित भएको बताउनु भयो । बाम गठबन्धनको देशव्यापी चुनावी माहौल बनाउन गोरखा पुग्नुभएका प्रचण्ड र केपी शर्मा ओलीले गोरखा भच्चेक, पालुङ्टार, आरुघाट लगायतका स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस