यस्तो रहेछ तनहुँमा कांग्रेस नेता मिनेन्द्र रिजालमाथि भएको घटना

गाउँपालिकाको केन्द्रको विवादमा कांग्रेसले जवरजस्ती गर्न खोज्दा नेकपाको प्रतिरोध

सफल खबर संवाददाता

सोमबार, १३ असोज २०७६, ०९ : ४५
यस्तो रहेछ तनहुँमा कांग्रेस नेता मिनेन्द्र रिजालमाथि भएको घटना

काठमाडौं । ‘कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालमाथि तनँहुमा आक्रमण प्रयास भयो, उनीमाथी नेकपाका कार्यकर्ताले आक्रमण प्रयास गरे !’

हिजोदेखि आजसम्म सञ्चारमाध्यममा एकतर्फी प्रचारबाजी यसैगरी भएको छ । तर यसभित्रको अन्तर्य खोजी कुनै सञ्चारमाध्यमले गरेको देखिएको छैन । मिडिया रिर्सजका भुवन केसीले सञ्चारमाध्यममा आएका समाचारपछि सामाजिक सञ्जालमा एउटा ट्विइट नै गरे, –‘केही पत्रकारले डा. मिनेन्द्र रिजालमाथि आक्रमणको प्रयास लेखे । तर किन ? तिर लागेनन् । कारण पनि लेखम् । एक पक्षीय र अपुरो सूचनामा बेचेर खर्च नगरम् ।’
 
हुन पनि केसीले भने जस्तै अहिले तनँहु घटनाको सञ्चारमाध्यममा एकपक्षीय प्रचारवाजी भएको छ । रिजाल जुन कार्यक्रमका लागि तनहुँ पुगेका थिए, त्यो कार्यक्रम त्यहाँ विवादित थियो । गाउँपालिकामा कांग्रेसको करिव एकलौटी जस्तै रहेकाले त्यहाँ अन्य राजनीतिक दलसँगको सहमति वा सरसल्लाह बिनै कांग्रेसले आफुखसी निर्णय लाद्ने गर्दै आएको थियो, त्यसैको परिणति थियो, तनहुँमा मिनेन्द्र माथिको घटना ।
 
तर सञ्चारमाध्यमा प्रचारित भयो, –‘उनीमाथी आक्रमण भयो, आक्रमण प्रयास भयो ।’ सञ्चारमाध्यमले त्यसभित्रको खास अन्र्तय के थियो भन्ने खोजी नै गरेनन् ।

सत्तारुढ दल नेकपाका नेता कार्यकर्ताले फरक आस्था र विचार बोकेका हरुमाथि आक्रमण शुरु गरेको प्रचारबाजी मात्र अहिले त्यो घटनालाई लिएर गर्न खोजिएको छ ।
तर वास्तविकता केलाउने हो भने घटनाको प्रकृति प्रचारित भएजस्तो नभएको स्थानीयहरु बताउँछन् ।

विवादको विषय के ?
तनहुँको ऋषिङ गाउंपालिकाको केन्द्र कहाँ राख्ने भन्नेमा नेकपा र कांग्रेसका बीचमा त्यहाँ लामो समयदेखि विवाद थियो । गाउँपालिकाले यसमा कुनै निर्णय लिन सकिरहेको थिएन ।

गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ८ ओटै वडामा कांग्रेसले चुनाव जितेको थियो । गाउँपालिकाको कार्यपालिका बैठकले एकतर्फी केन्द्रका विषयमा निर्णय लियो । त्यसपछि बढेको विवाद हो त्यो ।

कांग्रेस, नेकपा दुवैले आफ्नो जनमत बलियो रहेको स्थानमा गाउँपालिकाको केन्द्र राख्न चाहेका थिए । कांग्रेसले गाउँपालिकाको वडा नम्वर ६ स्थित पोखरीभज्याङ र नेकपासहितका अरु दलले सोही वडाको ढंगागाढे वा चालिसेमा राख्न माग गर्दै आएका थिए ।

तर गाउँपालिकाको कार्यपालिका बैठकले एकतर्फी अन्य दलसँगको सहमति र छलफल बिनै पोखरीभज्याङमा केन्द्र राख्ने र त्यहाँ राखिने केन्द्रको भवन शिलान्यासका लागि कांग्रेस नेतालाई बोलाउने निर्णय लियो ।

त्यही निर्णयका आधारमा कांग्रेस केन्द्रीय सदस्य रिजाल त्यहाँँ गाउँपालिकाको केन्द्रको भवन शिलान्यासका लागि तनहुँ पुगेका थिए ।

एकतर्फी गाउँपालिकाको केन्द्र तोकेको र शिलान्यासका लागि कांग्रेस नेता बोलाएको भन्दै नेकपाले विरोध जनायो । गाउँपालिकाको निर्णयका विरुद्धमा नेकपाले अन्य दलको पनि साथ लिएर संर्घष समिति बनायो । त्यही संर्घष समितिले हिजो त्यहाँ गाउँपालिका बन्दको घोषणा गरेको थियो ।

विवादकै बीच एकतर्फी गाउँपालिकाको भवन शिलान्यास गराउन खोजेको भन्दै भुपालसिंह थापाको संयोजकत्वमा रहेको संर्घष समितिले पोखरीभज्याङ पुग्ने शंगपथ राजमार्गको सडकमा रुख ढालेर वाटो अवरोध गरेका थिए । त्यही अवरोधमा परेका थिए, कांग्रेस नेता मिनेन्द्र रिजाल । रिजाललाई भवन शिलान्यासमा जानबाट रोक्न संघर्ष समितिले बाटोमा अवरोधको त्यस्तो प्रयास गरेको थियो ।

गाडी अवरोध भएपछि रिजाल लगायत नेताहरुले पैदलबाटै त्यस क्षेत्रमा जाने प्रयास गरेपछि पनि नेकपा कार्यकर्ता र संघर्ष समितिले उनलाई त्यहाँ जानबाट पनि रोकेका थिए ।

तर पछि रिजालले पैदल गएरै साझ भवन शिलान्यास गरेका छन् । तनहुँमा रिजालमाथी भएको यत्ति हो । तर प्रचारमा रिजाललाई नेकपा कार्यकर्ताले आक्रमण गरे, आक्रमणको प्रयास भयो भन्ने एकतर्फी समाचारमात्र प्रचारमा आइरहेको छ ।

‘यहाँको गाउँपालिकाको केन्द्र कहाँ रहने भन्नेमा सहमति खोज्नु पर्दैन, जवरजस्ती निर्णय लाद्न खोजेर हुन्छ ?’ संर्घष समितिका नेता भुपालसिंह थापाले भने,–‘जवरजस्ती गर्न खोजिएपछि गाउँपालिका बन्दको आह्रावन गरिएको थियो, त्यो बन्द अवज्ञा गर्न खोज्दा रोक्न खोजिएको मात्र हो ।’

त्यसो त गाउँपालिकाका सबै ८ वटै वडामा नेकपा सहितको संघर्ष समितिले तालाबन्दी गरेर आन्दोलनमा उत्रेका बेला रिजाल गाउँपालिका भवन शिलान्यास गर्न त्यहाँ पुगेका थिए । 

प्रतिक्रिया दिनुहोस