काठमाडौं । केन्द्र, प्रदेशदेखि स्थानीय तहसम्म जताततै बहुमतमा रहेको नेकपाले पेशागत संघ/संगठनका चुनावमा भने एकपछि अर्काे लज्जास्पद हार व्यहोर्न थालेको छ ।
सरकारको नेतृत्व गरिरहेको नेकपालाई पेशागत संघ/संगठनको निर्वाचन फाप्न सकेको छैन । एकपछि अर्काे निर्वाचनमा नेकपालाई कांग्रेस निकट लोकतान्त्रिक समूहले हारको स्वाद चखाउँदै आइरहेको छ ।
मुल नेतृत्व पराजित भएपनि अन्य छिसमिस परिणाममा मात्र चित्त बुझाउँदै आइरहेको सत्तारुढ दल नेकपा निकट प्रगतिशिल समुह पछिल्ला चुनावमा भने पूरै टिम पराजित हुन थालेको छ ।
पछिल्लो पटक हिजो सम्पन्न नेपाल क्रिक्रेट संघ (क्यान)को चुनावमा पनि प्रगतिशिल समुहको पूरै टिम पराजित भएको छ । कांग्रेसका बैतडीका नेता समेत रहेका चतुरबहादुर चन्द नेतृत्वको टिमले अर्काे टिमलाई क्लीनस्वीप नै गरेको छ ।
४ पदाधिकारीसहित १७ जनाको कार्यसमिति रहेको क्यानमा चन्द समूहको वर्चश्व देखिएको छ । हुन त पाण्डेको टिम पूरै नेकपा निकट समूह होइन । तर पनि उनी नेतृत्वको टिमलाई प्रगतिशिल समुह भन्दै सत्तारुढ दल नेकपाले समर्थन जनाएको थियो ।
चन्दले ४४ मत ल्याएर विजयी भइरहँदा सत्तारुढ दल नेकपाले समर्थन गरेको प्रतिस्पर्धी विनयराज पाण्डेले जम्मा १५ मत मात्र प्राप्त गरे । यो उनको क्यानमा लज्जास्पद पराजय हो ।
कहाँ कहाँ हार्यो नेकपा ?
सत्तारुढ दल नेकपा पछिल्ला झण्डै आधा दर्जन चुनावमा पराजित भएको छ । केन्द्र प्रदेशदेखि स्थानीय तहसम्म जताततै वहुमतको सरकारको नेतृत्व गरिरहेको नेकपाले पेशागत संघ/संगठनका चुनावमा एकपछि अर्काे हार व्यहोर्न थालेको छ ।
कतै यही परिणामले आउने उपचुनावमा पनि प्रभाव पार्ने त होइन भन्ने आंकलन अहिले नेकपाका नेताहरुले गर्न थालेका छन् । चुनावका बेला जनताका बीचमा लोकप्रिय आश्वासनको पुलिन्दा बाँढेको नेकपाले सरकारको नेतृत्व गरहेको झण्डै २० महिना पुग्न लाग्दा समेत सो अनुसारको काम देखाउन नसकेपछि त्यसको प्रतिक्रियास्वरुप यो खालको परिणाम आएको पो हो की ? अहिले पार्टीभित्र बहस शुरु हुन थालेको छ ।
उद्योग वाणिज्य संघ, दमकदेखि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनसम्म आइपुग्दा आधा दर्जन बढी मोर्चाहरुमा सत्तारुढ गठबन्धन पराजित भएको छ । गत मंगलबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा लोकतान्त्रिक समूहले नेकपाको प्रगतिशिल समूहलाई इतिहासमै पहिलो पटक क्लिनस्विप गरेको थियो ।
शनिबारको क्रिक्रेट संघको चुनावमा वामपन्थीले समर्थन गरेको विनयराज पाण्डेको टिमले पनि पराजित हुनु परेको छ ।
२२ भदौ २०७६ मा सम्पन्न उद्योग वाणिज्य संघ, दमकको निर्वाचनमा कांग्रेस नेतृत्वको समूहले नेकपा नेतृत्वको व्यवसायीलाई पराजित गरेको थियो । नेकपा अध्यक्ष एंव प्रधानमन्त्री केपी ओलीको आफ्नै निर्वाचन क्षेत्रमा नेकपाको बलियो संगठन थियो । तर, जित भने कांग्रेस निकट समूहले निकाल्यो । अध्यक्षमा प्रगतिशील समूहका विमल खतिवडालाई पराजित गर्दै लोकतान्त्रिकका उम्मेदवार गोकुल श्रेष्ठ विजयी बने ।
२१ भदौ २०७६ मा भएको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को निर्वाचनमा पनि नेकपाको समूह पराजित भयो । कांग्रेसका खुमबहादुर सुवेदी विजयी भए ।
२६ जेठ २०७६ मा भएको ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा पनि नेकपाको गठबन्धन पराजित भएको थियो । कांग्रेसका उम्मेदवार प्रकाशनरसिंह राणाले नेकपाका उम्मेदवार अर्जुनलाल प्रधानलाई पराजित गरेका थिए ।
निर्माण व्यवसायी संघ चितवनमा पनि नेकपाको समूह पराजित भएको थियो । चितवनमा कांग्रेस निकट ९५ जना थिए भने नेकपा निकट १८९ जना व्यवसायी । तर परिणाम चाहीँ कांग्रेस निकट व्यवसायी बाबुराम कँडेलको पक्षमा आयो ।
यसले पनि देखाउँछ नेकपा निकट प्रगतिशिल समूह चुनावमा एकपछि अर्काे रुपमा पराजित हुन थालेको छ ।
किन भइरहेछ यस्तो ?
नेकपा निकट पेशायत संगठन वा नेकपाले समर्थन गरेका टिम किन निर्वाचनमा एक पछि अर्काे रुपमा पराजित भईरहेका छन् ? पार्टीले गम्भिर समिक्षा गर्नुपर्ने नेकपाकै कतिपय नेताहरुले बताउन थालेका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारदेखि पार्टीसम्म सबैतिर आफ्नो अधिकार केन्द्रीत गर्ने र सबैतिरका काम प्रभावकारी बनाउने भन्दा पनि तदर्थवादमा चलाउन खोज्दाको परिणाम अहिलेका पेशागत क्षेत्रका चुनावमा देखिन थालेको कतिपयको विश्लेषण छ ।
ओली आफैमा अस्वस्थ्य छन् । बेलाबेला उपचारका लागि विदेश दौडिरहनु परिरहेको छ । उनको उपस्थिती विना पार्टी नेकपाले कुनै थप निर्णय लिन पाएको छैन । एकता प्रक्रिया पार्टी एकताको १७ महिना पुग्दासम्म पूर्ण रुपमा अझै सकिएको छैन । कतिपय प्रक्रिया अझै अल्झिएको अवस्थामा छ । सरकारले पनि चुनावी प्रतिवद्धता अनुसारको देखाउन सकेको छैन ।
सरकार र पार्टीका दुवै मोर्चामा ओलीले आफू अनुकुल बनाउन खोज्दा जनता र नेता कार्यकर्ताले अपेक्षा गरे अनुसारको परिणाम भोग्न र देख्न पाइरहेका छैनन् । यसको परिणाम निर्वाचनमा पर्न थालेको विश्लेषण अहिले राजनीतिक वृत्तमा हुन थालेको छ ।
यही अवस्थाको समिक्षा नेकपाले नगर्ने र पार्टीभित्र वहसको रुपमा उठेको सरकार र पार्टी नेतृत्व पार्टीका दुई अध्यक्षमध्ये एक एक जनाले कार्यकारी अधिकार नबाँढने हो भने परिणाम नेकपाका लागि अझ कठिन हुन सक्ने पार्टीभित्र बहस छ । यसले आगामी उपचुनावमा पनि असर गर्ने सम्भावना रहेको नेताहरु बताउँछन् ।
जसका कारण पनि सरकारको नेतृत्व एउटा अध्यक्ष र पार्टी नेतृत्व अर्काे अध्यक्षका बीचमा कार्यविभाजन गर्नुपर्ने आवाज नेकपाभित्र चर्काे छ । वरिष्ठ नेता माधव नेपाल समूहले त यो प्रस्ताव पार्टीमा लिखित रुपमा नै दर्ता गराएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असोज २०७६, ०९ : ३६
लेखकबाट थप