५७७ रुपैयाँसम्म छोडेनन् यी सांसदले

माधव नेपालदेखि अनिल झा सम्मले लिए संसद सचिवालयबाट उपचार खर्च

सफल खबर संवाददाता

आइतबार, १२ असोज २०७६, ०८ : ३८
५७७ रुपैयाँसम्म छोडेनन् यी सांसदले

काठमाडौं । दुई–पाँच हजार सांसदका लागि केही होइन । सामान्य खाजा खर्चमै कतिपय बेला सांसदहरुले हजारौं उडाइरहेका हुन्छन् ।

तर यस्ता पनि सांसद छन्, जसले राज्यकोषबाट प्राप्त हुने एक रुपैयाँ पनि छोड्न चाहँदैनन । त्यस्तै मध्येका सांसद हुन्,– कैलालीका सांसद कमलाकुमारी ओली ।
उनले आफू विरामी परेको भन्दै राज्यकोषबाट उपचारका लागि ५७७ रुपैयाँ लागेको बिल सांसद सचिवालयमा दर्ता गराएर त्यसबापतको रकम बुझेकी छिन् ।

आफ्नो सामान्य उपचार खर्च आफैले गर्न सक्ने हैसियतमा सांसदहरु हुन्छन्, तर उनीहरुले सामान्य रुघाखोकी लागेको विलको रकम पनि संसद सचिबालयबाट लिएको सुन्दा अचम्म मान्नु पर्दैन । भएको छ, त्यस्तै ।

२०७५ माघ ८ देखि २०७६ असार मसान्तसम्म प्रतिनिधीसभा तथा राष्ट्रिय सभाका कुल ५० जना सांसदहरुले संसद सचिवालयबाट उपचार खर्च वापतको रकम भुक्तानी लिएका छन् ।

जसमध्ये सबैभन्दा कम ५७७ रुपैयाँको स्वास्थ्य उपचारको रकम कैलालीका सांसद कमलाकुमारी ओलीले लिएकी हुन् । सबैभन्दा बढी भने बाग्लुङ १ की सांसद शान्तिकुमारी अधिकारीले लिएकी छिन् । उनले १ लाख ११ हजार ४८४ रुपैयाँ लिएकी छिन् ।

उपचार खर्च लिनेमा पूर्वप्रधानमन्त्री माधव नेपालदेखि नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र राजपा नेता लक्ष्मणलाल कर्णसम्म पनि छन् ।

माधव नेपालले ३० हजार ५० रुपैयाँ, देव गुरुङ्गले ५ हजार ८ सय ८० रुपैयाँ, राजपा अध्यक्षमण्डलका सदस्य अनिल कुमार झाले ८ हजार ४ सय ४३ रुपैयाँ, लेखा समितिका सभापति भरत शाहले २९ हजार ३ सय ४३ रुपैयाँ, राजपाका नेता लक्ष्मणलाल कर्णले ३१ हजार ६ सय ५० रुपैयाँ, अन्र्तराष्ट्रिय सम्बन्ध समितिको सभापति पवित्रा निरौला खरेलले ७ हजार ५० रुपैयाँ लिएका छन् ।
सुविधा लिने ५० मध्ये ४८ सांसदले नीजि अस्पतालमा उपचार गराउँदा खर्च भएको बिल संसद सचिवालयमा पेश गरी रकम भुक्तानी लिएका हुन् ।

पूर्वप्रधानमन्त्री माधव नेपाल र लेखा समिति सभापति भरत शाह २ जनाले मात्र सरकारी अस्पतालमा उपचार गराएको विल पेश गरी संसद सचिवालयबाट रकम बुझेका हुन् । 
 

प्रतिक्रिया दिनुहोस