जाम खुलाउन नसक्ने ‘उखाने’ सरकारले अरु के गर्न सक्छ ?

शनिबार, ११ असोज २०७६, १२ : १४
जाम खुलाउन नसक्ने ‘उखाने’ सरकारले अरु के गर्न सक्छ ?

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जाम खुलाउन नसक्ने दुई तिहाइको सरकारले अरु के गर्न सक्छ ? भनी प्रश्न गरेका छन् । उनले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई ‘उखाने’को संज्ञा दिएका छन् । उनले सरकारले चाडका बेलाको जोखिमपूर्ण यात्रा र अतासलाग्दो नागढुंगाको जाम पनि खुलाउन नसकेको भन्दै आलोचना गरे ।

काठमाडौं निर्वाचन क्षेत्र नं १ ले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले भाषण र उखान टुक्काले देश नचल्ने बताए । उनले ओली नेतृत्वको सरकारले नागढुंगाको जाम खुलाउन नसक्दा सर्वसाधारणको ज्यान गएको भन्दै हुतिहारा सरकारले जाम समेत खुलाउन ध्यान नदिनु लाजमर्दो भएको बताए ।

नेपाली कांग्रेसका नेता सिंहले नागढुंगा–नौबीसे सडकको जाम पनि खुलाउन नसक्ने सरकारका कारण सर्वसाधारणले ज्यान गुमाउन परेको भन्दै आक्रोश व्यक्त गरे । ‘यो सरकारसँग जनताले धेरै ठूलो अपेक्षा गरेर झण्डै दुईतिहाइको मत दिएका थिए’ उनले भने, ‘भाषण गरेर, उखान, टुक्का भनेर हुँदैन ।’

नेता सिंहले वर्तमान सरकारले दुईतिहाइ बहुमत पाएको सरकारले जनतालाई राहत दिनुपर्नेमा चाडपर्वको समयमा चर्को मुल्यवृद्धिको मार खेप्नु परेको तर्फ जिम्मेवार बन्न सरकार लाई आग्रह समेत गरे ।

बजारमा दैनिक उपभोग्य सामानको मूल्य ह्वात्तै बढेको बताउँदै नेता सिंहले काम गर्न नसकेर असफल भएको बताए ।
‘यो सरकारले काम गर्न सकेको छैन । जनताको न्युनतम चाहना पनि पूरा गर्न सकेन’ उनले भने, ‘हरेक ठाउँमा असफल भएको छ ।’

वर्तमान सरकारलाई संविधानविपरीतका काम नगर्न चेतावनी दिएका छन् । नेता सिंहले सी विचारधारालाई ल्याएर अरु काम को प्राथमिकता छाडेर अनावश्यक कुरामा केन्द्रित भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस