संशोधन गरी संविधानलाई सर्वस्वीकार्य बनाउन आवश्यक: नेता थापा

रासस

आइतबार, ०५ असोज २०७६, २० : १२
संशोधन गरी संविधानलाई सर्वस्वीकार्य बनाउन आवश्यक: नेता थापा

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता गगन थापाले नेपाली काङ्ग्रेसले संविधान रक्षार्थ संविधानलाई संशोधन गरी सर्वस्वीकार्य बनाउन चाहेको बताउनुभएको छ । 

महोत्तरीको सम्सी गाँउपालिका–२ पर्सा बजारमा आज आयोजित नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानअन्र्तगत कार्यकर्ता भेटघाट तथा अन्तरक्रियामा उहाँले संविधान निर्माणका क्रममा तत्कालीन समयमा केही कमीकमजोरी भएकाले ती कमजोरीलाई संशोधन गरी सबैको हितका लागि नेपाली काङ्ग्रेसले संविधान संशोधन गर्न चाहेको बताउनुभयो । 

मधेशी, जनजाति लगायतका असन्तुष्ट पक्षहरुको विचार विमर्शलाई समेटेर सबैको हितमा हुने गरी संविधान संशोधन गर्न बारम्बार दबाब दिँदासमेत सत्तापक्षका कारण संशोधन हुन नसकेको नेता थापाले आरोप लगाउनुभयो । वर्तमान संविधानमा विसं २०४७ मा रहेको संविधानभन्दा अनेकौँ विषयवस्तु जनहितमा रहेकोेले यस संविधानको रक्षार्थ जस्तोसुकै भूमिका निर्वाह गर्न नेपाली काङ्ग्रेस तयार रहेको उहाँको भनाइ थियो । 

उहाँले संविधान जारी हुने समयमा विरोध गर्ने तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संशोधनको मुद्दा लिएर सरकारमा गए पनि चुपचाप बसी जनतालाई भ्रममा राखेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस