नेपाललाई पेल्ने ओलीको चाल, ग्राण्ड डिजाइनर विष्णु रिमाल ?

एक महिनाअघि बालुवाटारमा भएको ओली–नेपाल भनाभन के विष्णु रिमालले नै बाहिर लगेका हुन् ? यस्तो छ वास्तविकता

सफल खबर संवाददाता

आइतबार, ०५ असोज २०७६, १४ : ४७
एक महिनाअघि बालुवाटारमा भएको ओली–नेपाल भनाभन के विष्णु रिमालले नै बाहिर लगेका हुन् ? यस्तो छ वास्तविकता

काठमाडौं । आजको ठीक एक महिनाअघि अर्थात् गत भदौ ५ गते । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसेको थियो । त्यस बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच राम्रैसँग भनाभन भयो । 

त्यो भनाभन भोलिपल्टका दैनिक पत्रिकाको पहिलो पृष्ठको समाचार बने । अहिले आएर नेकपाभित्र त्यो भनाभनको अडियो कसले बाहिर लग्यो भनी खोजी भइरहेको छ ।

सूचना कसले बाहिर लग्यो ? कसले कसलाई खुइल्याउन भूमिका खेल्यो भन्ने बारेमा चर्कै बहस भएको छ । यो बहस सार्वजनिक रुपमा भन्दा पनि भित्री रुपमा भुसको आगो जसरी फैलिएको छ । 

प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जाने दिन अर्थात् त्यही भदौ ५ गते । प्रधानमन्त्री ओलीले आफूलाई पेलेर भित्तामा नै पु¥याएको भन्दै नेता नेपालले ओलीप्रति कडा रुपमा प्रस्तुत भएका थिए । ओलीले आफूलाई नराम्ररी पेलेको र केही न केही गर्ने भन्दै माधव नेपालले सो दिन आफू पनि कडा रुपमा नै प्रस्तुत भएका थिए । 

त्यस दिन स्वास्थ्यलाभको कामना गर्ने विषयमा ओली र नेपालबीच चर्को विवाद भएको थियो । विवादको चुरो कारण भने ओलीले नेता नेपालको वरिष्ठ नेताको पदवी खोसेर अर्का नेता झलनाथ खनाललाई दिनु नै थियो । ओलीनिकट नेताहरुका अनुसार पार्टीको वरियतामा आफूलाई तल पारेको भन्दै नेता नेपालले रिस पोखेका थिए । 

ओली समूहले नै पार्टीभित्रको भनाभन बाहिर लगेर आफूलार्ई सार्वजनिक रुपमा नै हुर्मत लिने काम गरेको नेता नेपालको बुझाई रहेको छ । नेपालनिकट नेताहरुका अनुसार प्रधानमन्त्री ओलीका सहयोगीले जानी बुझीकन त्यस दिनको सम्वाद जस्ताको तस्तै सार्वजनिक रुपमा सञ्चारमाध्यमलाई उपलब्ध गराएका थिए । ओलीको सचिवालयमा रहेका विष्णु रिमाललगायतले त्यो दिन सचिवालय बैठकमा ओली र नेपालबीच भएको विवाद देखेका थिए । उनीहरुले प्रमुख छापा माध्यमलाई विवादको सबै विवरण उपलब्ध गराएको भन्नेमा नेता नेपाल पक्ष पूर्ण रुपमा विश्वस्त देखिएको छ । 

ओलीले आफूलाई साइजमा राख्ने लक्ष्यका साथ आफ्ना सहयोगी मार्फत उक्त दिनको विवाद सार्वजनिक गर्न लगाएको नेता नेपालले ठानेका छन् । मानवीय सम्वेदना र स्वास्थ्य जस्तो गम्भीर विषयलाई लिएर विषय वस्तु सार्वजनिक गर्न पाइयो भने त्यसबाट आफ्नो राजनीतिक हाइट बढ्ने र  नेता नेपाल हुन् भन्ने तथ्य स्थापित हुने ओली पक्षको बुझाइ रहेको देखिन्छ । 

ओली पक्षको साँघुरो सोचाई

प्रधानमन्त्रीको स्वास्थ्य जस्तो विषयमा समेत खेलबाड गरेको भनेर नेता नेपाल विरुद्ध पार्टीको जनमत बन्ने र सोही विषयलाई लिएर अर्का अध्यक्षसँग पनि बार्गेनिङ गर्न सकिने साँघुरो सोचाई ओली र उनका सहयोगी टिममा रहेको सहजै बुझ्न सकिन्छ । ओलीले सोही विषयलाई नै क्यास गर्ने लक्ष्यका साथ नेता नेपालले आफूलाई स्वास्थ्यलाभको कामना समेत नगरेको भन्दै बैठकमा भएको भन्दा बढ्ता विषय कथा बनाएर सार्वजनिक गर्न लगाएको नेता नेपालको बुझाई रहेको स्रोतको दाबी छ । 

गत भदौ ५ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै व्यक्तिगत तहमा उत्रिएर भनाभन गरेको भन्ने विषयले नेपाली जनता र पार्टी कार्यकर्ता तहमा समेत राम्रो परेको छैन । पार्टी भित्र विवाद रहेपनि त्यसलाई मिलाएर भित्रभित्रै मिलाउनुपर्नेमा सार्वजनिक गरिएको थियो । त्यो कम्युनिस्ट पार्टीको सिद्धान्त र आचरण विपरितको विषय समेत हो । कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको विवाद भए त्यसलाई पार्टी भित्रे कमिटिमा बसेर मिलाउनु पर्छ । लेनिनवादी सांगठनिक संरचना र सिद्धान्त एवम् विधिले समेत सोही मान्यता राख्छ । 

त्यस दिन नेता नेपालले गरेको स्वास्थ्यलाभको शुभकामनालाई अध्यक्ष ओलीले ‘चाहिँदैन’ भनेपछि विवाद चर्केको थियो ।  त्यसपछि नेता नेपालले स्वास्थ्यलाभको शुभकामना पनि चाहिँदैन भन्ने आपराधिक मानसिकता त्याग्न सल्लाह दिएका थिए । त्यसयता दुवै नेताहरूको सामान्य बोलीचाली ठप्प भएको छ । यो समेत राम्रो नभएको जानकारहरुको भनाइ छ । विवाद भएपनि त्यसलाई मिलाएर जानुपर्नेमा तथ्य भन्दा बाहिर गएर हल्ला गर्दै हिड्नु समेत गलत भएको र त्यसले कम्युनिस्ट आचरण समेत नराखेको बताइन्छ । 

उपचारका लागि १५ दिन सिंगापुरमा बिताएका ओली नेपाल फर्केलगत्तै राजनीतिक भेटघाट तीव्र पारे  । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापाले बालुवाटारमै गएर ओलीलाई भेटे । पार्टी एकताको बाँकी काम टुंगोमा लगाउन आधा दर्जन पटक छलफल समेत भयो । हरेक जसो छलफलमा ओली, अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेल छुटेका छैनन् । तर नेता नेपाल भने एक पटक पनि बालुवाटार पुगेका छैनन् । 

ती भेटघाटमा नेता नेपाल कुनै पनि रुपमा सहभागी छैनन् । ओली र नेपालबीच टेलिफोनमा समेत वार्ता भएको छैन । एकले अर्कोलाई पेलेको अर्थमा बुझेर कुने पनि छलफल नभएको बताइन्छ । मलाई घुर्की देखाउँदा के फरक पर्छ र भन्ने मान्यतामा ओली छन् भने नबोलाईकन त कुकुर पनि आउँदैन, म त पार्टीको पूर्व शीर्ष नेतृत्व र पूर्व प्रधानमन्त्री पनि भएकाले ओलीले नबोेलाइकन त जाँदै जान्न भन्ने अडानमा नेता नेपाल छन् । 

पेलेर जान खोजे झन् ठूलो गल्ती हुने

नेता नेपालले आफूलाई ओलीले पेलेर जान खोजेको भन्दै त्यसो गरिए झन् ठूलो गल्ती हुने बताउँदै आएका छन् । अब कसरी अगाडि जाने नेपाललाई पेलेर जान खोजे झन् ठूलो गल्ती हुने बताए । नेता नेपालको पार्टीभित्रको पकड र शक्तिलाई नजर अन्दाज गर्न नहुने आना निकटस्थहरुसँग बताउँदै आएका छन् । उनले पछिल्ला दिनमा आफ्ना निकटस्थहरुसँग नियमित छलफल गरिरहेका छन् ।  नेता नेपालका निकटस्थहरुको भनाइ छ  – अरु कोही चाहिँदैन, कसैको सहयोग चाहिँदैन भन्ने ठूलो दम्भ ओलीमा रहेको छ । यसले पार्टीलाई हित गर्दैन । यो ज्यादती कम्युनिस्ट पार्टीमा चल्दैन । 

‘प्रधानमन्त्री ओलीमा अरुको साथ नखोज्ने, सदासयता नखोज्ने खालको चरित्र हाबी भएको र त्यसले व्यक्तिगत इगो र गैरराजनीतिक चरित्रलाई प्रश्रय दिने नेपालको ठहर छ । ओलीसँग नझुक्ने उनको दृढता देखिएको छलफलमा सहभागी एक नेताले बताए ।  ओली उपचारका लागि सिंगापुर जानुभन्दा केही दिन अघि बसेको बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्षका लागि प्रस्ताव गरेको थियो । ओलीले ल्याएको उक्त प्रस्तावमा अन्य ८ जना नै सहमत भएका थिए तर स्थायी कमिटी बैठकले निर्णय नगरीकन गौतमको उपाध्यक्ष पद कार्यान्वयनमा आउने समेत अवस्था छैन । 

नेता नेपालले आफूलाई पेलिएको अवस्थामा सो प्रस्तावलाई समेत पारित हुन नदिने अडानमा पुगेका छन् ।  पछिल्लो समयमा सञ्चारमाध्यमहरूले पनि पाटीमा वामदेव गौतमलाई अगाडि ल्याउन खोजेको भनी विश्लेषण गर्न थालेका छन् तर उपाध्यक्ष पदको कुनै विशेष अधिकार नरहने र अनावश्यक लफडा गरिए त्यसले पार्टीको भविष्यलाई समेत धरापमा पार्ने उनको बुझाइ छ । 

गत  भदौ ५ गतेको सचिवालय बैठकमा भएको कुराकानी शुरूमा कसरी ल्याइयो ?’ नेपालनिकट एक नेताका अनुसार ‘माधव नेपालले शुभकामना दिन्न भनेको भन्दै होहल्ला गर्न खोजिएको हैन र ? तर पछि त त्यसो होइन रहेछ भनेर प्रमाणित भयो ।’  माधव नेपालले शुभकामना दिँदा तपाईंको शुभकामना चाहिँदैन भनेर ओलीले भनेको उनको दाबी छ । ‘शुरूमा सञ्चार माध्यममा आएको सूचनाको स्रोत के हो ? कसले यस्तो गरिरहेको छ ? बैठकभित्र यो यो भयो भनेर बाहिर भन्दै हिंड्ने को हो ? आखिर सत्य कुरा त आयो नि त !’ उनले असन्तुष्टि व्यक्त गरेका थिए ।

खास डिजाइनर विष्णु रिमाल 

उनका अनुसार विष्णु रिमाल नै त्यसका खास डिजाइनर  हुन् । सचिवालय बैठकमा हैसियत नभएपनि प्रधानमन्त्रीको नजिक आएर उनी बसेका थिए । उनी त्यहाँ बसेको विषयलाई कोही कसैले पनि कुरा उठाएनन् । विवाद बढ्दै गएपछि रिमालले नै उक्त विवादको अडियो रेकर्ड गरेको हुन सक्ने नेता नेपाल पक्षको बुझाई छ । 

नेता नेपालले कुनै अश्लील या निकृष्ट शब्द ओलीलाई  नबोलेको तर ओली पक्षले उक्त भनाभनलाई बढाईचढाई सञ्चारमाध्यममा ल्याएको विषय अबको बैठकको एजेण्डा हुने नेता नेपाल पक्षको दाबी रहेको छ । 

प्रतिक्रिया दिनुहोस