पत्थरीको अपरेशन गराउँदा २९ वर्षीया महिलाको मृत्यु

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप, हृदयाघातबाट मृत्यु भएको अस्पतालको भनाइ

सफल खबर संवाददाता

आइतबार, ०५ असोज २०७६, १३ : ५५
पत्थरीको अपरेशन गराउँदा २९ वर्षीया महिलाको मृत्यु

काठमाडौँ । चाबहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा एक महिलाको मृत्यु भएको छ । 

धादिङको गंगाजमुना गाउँपालिकाकी २९ वर्षीया अनिता गुरूङको पत्थरीको अपरेशन गराउँदा मृत्यु भएको हो । मृतकका आफन्तहरुले चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । 

शुक्रवार दिउँसो हिँडेरै अस्पताल पुगेकी गुरूङको चिकित्सकहरूले शनिबार पत्थरी निकाल्न अपरेशन गरेका थिए । अपरेशनपछि गुरूङको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । तर, चिकित्सकले अवस्था सामान्य भनेको ६ घण्टा बित्न नपाउँदै उनको मृत्यु भएको मृतकका आफन्तहरुले बताए । 

अस्पताल प्रशासनले भने गुरुङको मृत्युको कारण अपरेशन नभइ हृदयाघात (हर्ट अट्याक) ले भएको दाबी गरेको छ ।  आफन्तहरुले भने चिकित्सकले उपचारमा लापरबाही गरेका कारण अपरेशनपछि बिरामीको मृत्यु भएको भन्दै शनिबार अस्पतालमा आन्दोलन समेत गरेका थिए । 

केही समय पहिला ओम अस्पतालमै पत्थरीको अपरेशनको क्रममा आन्द्रा काटिँदा सिन्धुपाल्चोक घर भएकी एक महिलाको मृत्यू भएको थियो ।

प्रतिक्रिया दिनुहोस