भरतपुर महानगरपालिकाका प्रमुख दाहालद्वारा घर हस्तान्तरण

रासस

शनिबार, ०४ असोज २०७६, १८ : ५७
भरतपुर महानगरपालिकाका प्रमुख दाहालद्वारा  घर हस्तान्तरण

चितवन । भरतपुर महानगरपालिकाको वडा नम्बर २२ पटिहनीमा सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएका घर आज हस्तान्तरण गरिएको छ । 

सघन शहरी विकास कार्यालय भरतपुर र भरतपुर महानगरपालिकाको सहयोगमा निर्माण गरिएका घरहरु घरधनीलाई हस्तान्तरण गरिएको हो । 

महानगरपालिकाका प्रमुख रेनु दाहालले निर्माण सम्पन्न घरमा रिबन काटेर घर धनीसँगै गृह प्रवेश गरेर घर हस्तान्तरण गर्नुभएको हो । सघन शहरी विकास कार्यालयले भवन निर्माणका लागि रु ५० हजार सहयोग गरेको थियो । सो रकमबाहेक घर धनीले रकम थप गरी घर निर्माण गरेका हुन् । 

सो क्षेत्रमा २२ वटा घर निर्माण गरिँदै छ । निर्माण सम्पन्न भएका घर हस्तान्तरण आजबाट शुरु भएको हो । घर सम्पन्न भएसँगै घर धनीले प्रयोग गर्न पाउने गरी हस्तान्तरण प्रक्रिया शुरु गरिएको हो । सो कार्यक्रमअन्तर्गत घरमा रहेको खर हटाएर सुरक्षित घर निर्माण गर्ने उद्देश्य रहेको भए पनि घरधनीले रकम थप गरी ब्लकको गाह्रो लगाएर तीनवटा कोठा निर्माण गरेका छन् । सो क्षेत्र वन्यजन्तुको जोखिममा रहेको क्षेत्र हो । 

घर प्रवेशसँगै महानगरप्रमुख दाहालले महानगरभित्र खरको छानो हटाउने अभियानअन्तर्गत यो कार्यक्रम शुरु भएको भन्दै आउँदा वर्षहरुमा यस कार्यक्रमले निरन्तरता पाउने बताउनुभयो । कार्यक्रम वडाध्यक्ष विष्णुराज महतोको सभापतित्वमा भएको थियो । 
तस्बिर: रामहरि सेढाई

प्रतिक्रिया दिनुहोस