मन्त्री मातृका यादवका ज्वाइँ बहुविवाहमा दोषी ठहर

विहीबार, २६ भदौ २०७६, १५ : ४८
मन्त्री मातृका यादवका ज्वाइँ बहुविवाहमा दोषी ठहर

जनकपुरधाम । प्रदेश २ का सांसद दिलिपकुमार साह बहुविवाहको कसूरमा अदालतबाट कैद सजाय तथा जरिवाना समेत ठहर भएका व्यक्ति हुन् । उनी नेकपाबाट सिरहा ४९१० का प्रदेश सभा सदस्य र मन्त्री मातृका यादवका ज्वाइँ हुन् । 

तत्कालीन माओवादी केन्द्रबाट टिकट पाएर उनी प्रत्यक्ष निर्वाचित भएका थिए । उनलाई धनुषा जिल्ला अदालत र उच्च अदालत जनकपुरले बहुविवाह गरेको कसूर ठहर गर्दै १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना समेत ठहर गरिसकेका छन् ।

घरमा पत्नी हुँदाहुँदै सम्बन्धविच्छेद नगरिकन दोस्रो विवाह गरेको भन्दै उनलाई धनुषा जिल्ला अदालतका तत्कालीन जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलाशले २०७२ जेठ १३ गते दोषी ठहर गर्दै फैसला सुनाएको थियो । जिल्ला अदालतको फैसलाप्रति चित्त नबुझेर पुनरावलोकन गर्न उच्च अदालत जनकपुर पुगेका सांसद साहलाई उच्च अदालतले पनि सफाई दिएन । उच्चले जिल्ला अदालतकै फैसलालाई सदर गरेको छ ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय विनोद मोहन आचार्य र रमेश ढकालको संयुक्त इजलाशले २०७६ असार २५ गते जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गरेको छ ।

‘पहिलो श्रीमती संगीतादेवी यादव र उनका २ सन्तान हुँदाहुँदै सम्बन्धविच्छेद नगरिकनै जानकी कुमारी साहसँग अर्को बिहे गरेको कारण साहले बहुविवाह कसूर गरेको मानिन्छ,’ उच्च अदालतले गरेको फैसलामा भनिएको छ, ‘तसर्थ शुरूको धनुषा जिल्ला अदालतबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ ।’

जिल्ला अदालतले फैसला गर्दा दोस्री पत्नी जानकी साहलाई भने सफाई दिएको थियो । जानकी साहले जानीजानी विवाह गरेको भन्ने वादी दाबी पुष्टि हुने गरी स्वतन्त्र तथा विश्वसनीय प्रमाण पेश गर्न नसकेकाले जानकी साहलाई दुवै अदालतले सफाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस