काठमाडौँमा निजी क्षेत्रको विद्युतीय बस सरर...

सोमबार, २३ भदौ २०७६, १४ : ४०
काठमाडौँमा निजी क्षेत्रको विद्युतीय बस सरर...

 काठमाडौं । आजबाट राजधानी काठमाडौंमा लामा आकारका सुविधायुक्त विद्युतीय बस सञ्चालनमा आएको छ । बसमा ‘स्मार्ट यात्रा कार्ड’ लिएर यात्रा गर्नेले २० प्रतिशतसम्म छुट पाइनेछ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ‘बिजुली बस’ सेवाको   उदघाटन गरेका छन् । 

निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बस सञ्चालनमा ल्याएको हो । केही दिनभित्रै थप २ वटा बसले काठमाडौंमा सेवा दिने सुुन्दर यातायातले जनाएको छ । 

कम्पनीले अब नेपालमा विद्युतीय सार्वजनिक सवारीको युग सुरुआत भएको घोषणा गरेको छ । साझा यातायातले पहिलो चरणमा करिब ५० वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा सुन्दर यातायातले एक कदम अगाडि बढेर पहिलो विद्युतीय बस सञ्चालनमा ल्याएको हो ।

यसअघि सरकारले लुम्बिनीमा चलाउने गरी ल्याएका बिजुली बस साझामार्फत केही समय चलाउन दिइएको थियो । तर, सञ्चालन सुरुआत नहुँदै मापदण्डअनुासरको बस नआएको भन्दै फिर्ता पठाइएको थियो ।

सुन्दरले हाल ल्याएका बस ब्याट्रीबाट चल्ने बीएके कम्पनीका हुन् । बिजुली बस चलाउन कम्पनीले रिंगरोडको रुट पाएको छ । कम्पनीले थप ११ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ ।

यो वर्षभित्रै २५ वटा बस काठमाडौंमा चलाउनका लागि ल्याइने कम्पनी अध्यक्ष भेषबहादुर थापाले बताए । कम्पनीले प्रतिबस एक करोड ६२ लाख मूल्य खर्चिएको छ ।

अगाडिबाट यी बसहरु अहिले शहरमा चलिरहेका बसभन्दा भिन्न देखिन्छन् । यी बस नेपाली सडक मैत्री छन् । विदेशमा चलिरहेका विद्युतीय बसको बनावट नेपाललाई उपयुक्त नहुने देखिएपछि सुन्दरले चिनियाँ प्राविधिकलाई नेपालमै ल्याएर नेपाली सडकको अवस्था अध्ययन गराएर बसको डिजाइन गराएको थियो । खाल्डाखुल्डीका कारण गुडाउन समस्या हुने भएपछि नेपालका लागि छुट्टै प्राविधिक डिजाइन गरिएको हो ।

सुन्दरले भित्राइसकेका र भित्राउन लागिएका थप बस ४० सिट क्षमतासम्मका छन् । यी बसहरु काठमाडौंको चक्रपथसहितका शहरभित्रका प्रायः सबै रुटहरुमा चलाइने कम्पनीले बताएको छ ।
कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने बताएको छ । रातभर ६ घन्टा लगाएर चार्ज गर्ने विकल्प पनि छ । कम्पनीले गत हप्ता नै आफ्नो चार्जिङ स्टेसनको उदघाटन गरिसकेको छ ।

यी बसमा नै आधुनिक तवरको स्मार्ट पेमेन्ट सिस्टम जोडिएको छ । स्मार्ट यात्रा कार्डमार्फत भाडा तिर्न सकिनेछ । मोबाइलबाट ‘क्युआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सकिनेछ ।
 

प्रतिक्रिया दिनुहोस