‘शत्रु गते’ गीत : ‘पिरतीको बर्को’ भन्दै पल र आँचल

विहीबार, १८ माघ २०७४, १५ : ३५
‘शत्रु गते’ गीत : ‘पिरतीको बर्को’ भन्दै पल र आँचल

मह सञ्चारको ब्यनारमा निर्माण गरिएको चलचित्र ‘शत्रु गते’को पहिलो गीत ‘रुपै मोहनी’ले चर्चा पाइरहेको समयमा निर्माण युनिटले अर्काे गीत  ‘पिरतीको बर्को’ सार्वजनिक गरेको छ । निर्माण युनिटले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना सहित गीत सार्वजनिक गरेको हो ।
पल शाह र आँचल शर्माको अभिनय रहेको गीतमा शब्द अर्जुन भट्टराई र संगीत तथा स्वर कालिप्रसाद बास्कोटाको रहेको छ । गीतमा प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् ।
रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल निर्माता रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल, पल शाह र आँचल शर्माको समेत अभिनय देख्न सकिन्छ ।
हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको चलचित्रका कार्यकारी निर्माता किरण केसी हुन् । चलचित्रमा दीर्घ गुरुङको छायांकन, कविराज गहतराजको नृत्य र राजनराज सिवाकोटीको समेत गीत तथा संगीत सुन्न सकिनेछ ।
कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपक गिरी, दीपाश्री निरौला, पल, आँचल, िनर्देशक प्रदीप लगायत उपस्थित थिए ।

– कार्यक्रममा बरिष्ठ कलाकार मदकृष्णले यस अगाडिको अभिनय भन्दा यो चलचित्रमा भिन्न देख्न पाइने बताए । उनले दर्शकलाई मनोरञ्जनसँगै समय र पैसाको सदुपयोग हुने चलचित्र तयार गरेको दाबी गरे ।

– हरिवंश आचार्यले निर्माणमा  केही समयको अन्तरालमा आएकाले बीचमा आफुहरु अपडेट पनि हुन् नसकेको बताए । उनले चलचित्र दर्शकले रुची अनुसारको निर्माण भएको बताए ।
– निर्देशक प्रदीप भट्टराईले गीतमा पल र आँचलको माया र मित्रतालाई झल्काउने कोसिस गरेको बताए ।

प्रतिक्रिया दिनुहोस