भरतपुर विमानस्थल विस्तारको लागि सेनाको व्यारेक हटाउने सहमति

बुधबार, १८ भदौ २०७६, १७ : ००
भरतपुर विमानस्थल विस्तारको लागि सेनाको व्यारेक हटाउने सहमति

चितवन । भरतपुर विमानस्थल विस्तारको लागि नजिकैको सेनाको व्यारेक हटाइने भएको छ ।

आज भरतपुर महानगरमा भएको विमान स्थल विस्तार एवम् सुधार सम्बन्धमा सर्वदलीय छलफलमा सेनाको व्यारेक हटाउन सहमति भएको हो ।  छलफलमा विमानस्थलको उत्तरतर्फ रहेको नेपाल सेनाको घोडा फार्म र ब्यारेकलाई हटाएर त्यस स्थानमा रनवे विस्तार गरी रात्रिकालिन सेवा समेत चलाउने सहमति भएको हो ।  

कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रमुख, प्रदेश सांसद, प्रदेश प्रमुख, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले व्यारेक हटाएर विमानस्थल विस्तार गर्न सुझाव दिएका थिए । 

नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई रहेका थिए । कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भरतपुर विमानस्थलले मकवानपुरलगायत यस आसपासका जिल्लालाई सेवा दिएको बताउनुभयो । सांसद कृष्णभक्त पोख्रेलले भरतपुर विमानस्थलको स्तर वृद्धिको लागि व्यारेक हटाइनुबाहेक अर्को विकल्प नभएको बताउनुभयो ।

राष्ट्रिय सभा सार्वजनिक सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल पार्वतीले विमानस्थलको विस्तारको कुनै विकल्प नभएको बताउनुभयो । 

कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, मिलनबाबु श्रेष्ठ, गीता वाग्ले, नेपाली कांग्रेसका जिल्ला सचिव उत्तम जोशी, उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधान, उद्योग संघका अध्यक्ष भेषराज दुवाडीलगायतले भरतपुर विमानस्थलको बारेमा सुझाव दिएका थिए ।

कार्यक्रममा प्राविधिक तथा इन्जिनियरहरुले विमानस्थलसम्बन्धमा जानकारी दिएका थिए । कार्यक्रम महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस