प्रतिनिधि सभामा गगन थापाको भावुक भाषण : भने, ‘प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुहोस्’

सफल खबर संवाददाता

बुधबार, १८ भदौ २०७६, १६ : ५४
प्रतिनिधि सभामा गगन थापाको भावुक भाषण : भने, ‘प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुहोस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य अवस्था बिचार गरेर विश्राम लिनु पर्ने बताएका छन् ।

‘प्रधानमन्त्रीको उपचारको बारेमा यथार्थ जानकारी सरकारले संसदलाई गराएको छैन’ उनले भने, ‘जनताले आफ्नो प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा जान्न पाउनुपर्छ ।’

प्रत्येक २–३ महिनामा १०र१२ दिन विदेश गएर टेलिप्रिजेन्समार्फत मन्त्रीहरूको ब्रीफिङ लिएर देश चलाउने कुराबाट शासकीय जिम्मेवारी पूरा हुन नसक्ने सांसद थापाको भनाइ थियो ।

थापाले गरेको सम्बोधनको अंश :

प्रधानमन्त्री उपचारको क्रममा सिंगापुरमा हुनुहुन्छ, हामीले उहाँको स्वास्थ्यलाभको कामना गर्न चाहन्छौं ।

हामीले कुनै कानून बनायौं कुनै पनि नेताले विदेशमा उपचार गर्दा सोका लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध हुने छैन, यो कानूनको पालना गर्नुभएकोमा प्रधानमन्त्रीप्रति हार्दिक आभार प्रकट गर्दछौं । नागरिकको यस किसिमको चासोलाई प्रधानमन्त्रीले उपयुक्त समयमा बताउनुहुनेछ भन्ने आशा पनि प्रकट गर्न चाहन्छु ।

प्रधानमन्त्रीको उपचारको बारेमा यथार्थ जानकारी सरकारले संसदलाई गराएको छैन । जनताले आफ्नो प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा जान्न पाउनुपर्छ । 

प्रधानमन्त्रीको निजी चिकित्सकलाई उदृत गरेर छापाहरूमा आएको सीमित सूचनाका आधारमा यो अनुमान लगाउन सकिन्छ कि प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख छ ।

मृगौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्रीको इच्छाशक्ति र क्रियाशीलता संसारका लागि नमूना बनोस् तर केही चिकित्सकले गरेको अनुमान अनुसार प्रधानमन्त्री पटक–पटक विदेश गएर केही समय विश्राम गरेर उपचार गराइरहनुपर्ने भयो भने के गर्ने रु

संविधानको धारा ७५ अनुसार नेपालको कार्यकारी अधिकार मन्त्रिपरिषद्मा निहीत छ र मन्त्रिपरिषदको प्रमुख प्रधानमन्त्री हुनुहुन्छ । 

संसदीय पद्धतिमा संसदको कामको सिर्जना पनि प्रधानमन्त्रीबाटै हुन्छ । प्रधानमन्त्री सेरेमोनियल पोजिसन होइन । डे टू डे जिम्मेवारी प्रधानमन्त्रीले निर्वाह गर्नुपर्छ । पछिल्ला दिनमा प्रधानमन्त्रीको कार्यबोझ बढाइएको छ । हाम्रो प्रधानमन्त्रीले यी सबै गर्ने कुराको इच्छाशक्ति राख्नुहुन्छ भन्ने कुरामा दुईमत छैन । तर इच्छाशक्ति मात्र सबै कुरा होइन सभामुख महोदय । शारीरिक स्वास्थ्यले पनि धेरै कुराहरू निर्धारण गर्छ । 
प्रधानमन्त्री राष्ट्रिय सुरक्षा, अखण्डता र सार्वभौमसत्ताको रखवाला हुनुहुन्छ । कार्यकारी प्रमुख एकैपटक लामो समयसम्म देशबाहिर बस्दा एकातिर राष्ट्रिय सुरक्षा र कूटनीतिक मर्यादा आदि कुरामा जोखिमको प्रश्न त छँदैछ, प्रत्येक २–३ महिनामा १०र१२ दिन विदेश गएर टेलिप्रिजेन्समार्फत मन्त्रीहरूको ब्रीफिङ लिएर देश चलाउने कुराबाट शासकीय जिम्मेवारी पूरा हुन सक्दैन । 

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था भएको भए फेरि निर्वाचनमा जानुपर्ने व्यवस्था आउँछ भनेर कष्ट दिएर भएपनि प्रधानमन्त्रीको निरन्तरताको अपेक्षा राख्नु स्वाभाविक हुने थियो । तर यहाँ यस्तो अवस्था छैन सभामुख महोदय । यहाँ नेपाल कम्युनिस्ट पार्टीको बहुमत छ । सजिलैसँग नयाँ प्रधानमन्त्री छान्न सक्छ । एकसे एक प्रधानमन्त्री भएको व्यक्ति यो पार्टीमा हुनुहुन्छ । प्रधानमन्त्री हुने इच्छा राख्ने व्यक्ति हुनुहुन्छ । 

यस्तो अवस्थामा हामी विश्राम दिन किन चाहिरहेका छैनौं । मैले धेरैपटक नेपाल कम्युनिस्ट पार्टीका युवा सांसदहरूले प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गरेको सुनेको छु । प्रधानमन्त्री हाम्रो पनि बा सरह हुनुहुन्छ । हामी हाम्रो बा बिरामी हुनुभएको भए के भन्थ्यौं ? ‘बा धपेडी नगर्नुस्, बा आराम गर्नुस्, बा बिश्राम लिनुस् ।’ हामीले हाम्रो बालाई यति भन्न सक्छौं भने प्रधानमन्त्रीलाई किन भन्न सक्दैनौं ? 

यो अन्याय हिजो हामीले पनि गर्‍यौं । यो गल्ती तपाईंहरू नदोहोर्‍याउनुस् । प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुस् । किनकि नेपालको प्रजातान्त्रिक आन्दोलनमा यत्रो ठूलो योगदान पुर्‍याउनुभएको, नेपालको शान्ति प्रक्रियामा यत्रो ठूलो योगदान पुर्‍याउनुभएको, यत्रो ठूलो राष्ट्रिय जिम्मेवारी निर्वाह गर्नुभएको । 

स्वाभिमानको लडाइमा अथक खट्नुभएको हाम्रो सम्माननीय प्रधानमन्त्रीलाई हाम्रोबीचमा अभिभावकका रूपमा देख्न चाहन्छौं तर यो कुरा त्यतिखेर मात्र सम्भव छ, शरीर सबैको शरीर हो, मन पनि सबैको मन हो ।

प्रतिक्रिया दिनुहोस