के यही हो प्रहरीको मुस्कानसहितको सेवा ? (भिडियोसहित)

सफल खबर संवाददाता

बुधबार, १८ भदौ २०७६, ११ : ५०

रसुवा । मिति २०७६ साल भदौ १७ गते मंगलबार । स्थान : रसुवा जिल्लाको टिमुरे । समय : दिउँसो करिब साढे चार बजे । 

दृश्य : मालवाहक कन्टेनर सडकको दायाँ–बायाँ मिलाएर राखिएका थिए । एक जना प्रहरी आएर आर्मीको गाडी आउँछ, सडक खाली गर भन्दै करायो । कुनामा साइड लगाइएको त्यो गाडी हटा भन्दै करायो ।

गाडी साइडमै थियो । बाटो खुला थियो । तर, पुलिसले अपशब्द प्रयोग गरेर गाली गर्दै गाडी हटाउन भनिरह्यो । त्यसरी अपशब्द प्रयोग गरिएकोमा त्यो गाडीका चालकले विरोध जनाए । त्यतिकैमा विवाद सुरु भयो । प्रहरीले चालकको कपाल समातेर कुट्न थाल्यो । लात्तैलात्ताले हिर्कायो । लछारपछार गर्दै अर्को प्रहरीलाई पनि बोलायो ।

अर्को प्रहरी आएपछि दुई जना मिलेर चालकलाई कुट्न थाले । विनाकारण कुट्न पाइँदैन भन्दै अरू कन्टेनरका चालकले विरोध गर्न थालेपछि प्रहरीले ती चालकलाई कुट्न छाडे । तर, अरू प्रहरी बोलाएर चालकलाई लिएर गए । 

प्रश्न : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालज्यू, के यही हो प्रहरीको मुस्कानसहितको सेवा ? जनताले जवाफ पर्खेका छन् ।

घटना विवरण
दुई प्रहरीले जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङका श्रीमान् तामाङलाई सडकमा लछारपछार गर्दै कुटपिट गरेका हुन् । कुटपिट गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
चालक तामाङ ना।६ ख ४९२५ नम्बरको कन्टेनरका चालक हुन् । चीन सरकारले नेपाल सरकारलाई सहयोग गरेको सैन्य सहयोगअन्तर्गत रसुवागढी नाका हुँदै आएका सवारीसाधनको ट्राफिक जाम हटाउन गएका प्रहरीले केरुङ जाने कन्टेनरका चालकमाथि दिउँसै दुव्र्यवहार गरेको चालकले बताएका छन् । कुटपिटपछि प्रहरीले चालकलाई हिरासतमा लिएको छ । 
चालकलाई कुटपिट गरेको भिडियो प्रत्यक्षदर्शीले कैद गरेर सामाजिक सञ्जालमा राखेपछि प्रहरीको आलोचना भइरहेको छ । रसुवाका प्रहरी प्रमुख भाग्येन्द्रपुरुष ढकालका अनुसार उक्त घटना मंगलबार टिमुरे क्षेत्रमा भएको र संलग्न ती दुवै प्रहरी र चालकलाई नियन्त्रणमा लिएर कारबाहीको लागी अनुसन्धान शुरु भएको छ ।
उक्त भिडियो ओर्जिनल भए नभएको र उक्त घटनामा देखिए अनुसारको व्यवहार के कति कारणले भएको हो, त्यसको अनुसन्धान पश्चात घटना सम्बन्धमा थप विवरण बाहिर आउने र दोषीलाई कारबाही हुने प्रहरी प्रमुख ढकालले बताए ।
सीमा प्रहरीका प्रमुख परिवर्तन भएपछि ज्यादती बढेको गुनासो चालकले गरेका छन् । प्रहरीले भने चालकले गलत ठाउँमा पार्किङ गरेको सवारीलाई हटाउन आग्रह गर्दा चालकले असइमाथि हात हालेपछि नियन्त्रणमा लिन खोज्दा कुटपिट भएको दाबी गरेको छ । सवारीचालकहरूले कुटपिटको विरोधमा बुधबार रसुवा बन्दको आह्वान गरेका छन् ।

प्रहरीको विज्ञप्ति
सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि गम्भीर ध्यानाकर्षण भएको भन्दै जिल्ला प्रहरीले विज्ञप्ति नै निकालेको छ । घटनाबारे छानबिन गरी दोसीमाथि कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका सन्दर्भमा चालकलाई नियन्त्रणमा लिने क्रममा खिचिएको भिडियोप्रति प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘घटनाबारे छानबिन गरी दोषीउपर कारबाही गरिनेछ ।’ कुटपिट गर्ने प्रहरीको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस