दरैठाँटी माविमै छैनन् दरै समुदायका बालबालिका

विहीबार, १८ माघ २०७४, १३ : ३०

रामपुर, पाल्पा । दरै समुदायको नाममा सञ्चालित रामपुरको दरैठाँटी माविमा दरै समुदायका बालबालिका नै विद्यालयको घेराभन्दा बाहिर छन् ।

२०१७ सालमा (साबिक रामपुर गाविस–३) हाल रामपुर नगरपालिका–५ को बेझाड बजारमा रहेको दरैको ठाँटी (गोठजस्तो) बाट शुरुवात भएको दरैठाँटी माविमा अहिले दरै समुदायका बालबालिकाको अवस्था शून्य छ ।

दरैको नाममा विद्यालय चलिरहेको छ तर विद्यालयमा एकजना पनि दरै समुदायका विद्यार्थी भर्ना नभएको विद्यालयका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा बताउनुहुन्छ । विद्यालयले पनि दरै समुदायबाट पठनपाठन गर्न आउने विद्यार्थीलाई अन्य विद्यार्थीको तुलनामा केही सेवा सुबिधा उपलब्ध गराउने देवकोटाले बताउनुभयो ।

“पहिले पहिले दरै समुदायका व्यक्ति पनि पढ्न आउँथे तर पछिल्लो समय विद्यार्थीको सङ्ख्या शून्य हँुदा विद्यालयले बारम्बार दरै बस्तीमै पुगेर अभिभावकसँग आग्रह गरिरहँदा पनि विद्यार्थी उपस्थित हुन सकिरहेका छैनन्”, उहाँले भन्नुभयो ।

पाल्पाको चिदीपानीबाट शिक्षक शिवप्रसाद पन्थीलाई रामपुरका स्थानीयवासी तीर्थप्रसाद भट्टराईले झिकाएर दरैको ठाँटीबाट पठनपाठन शुरु गरिएको हुनाले यस विद्यालयको नाम दरैठाँटी रहन गएको हो । दरै समुदायलाई विद्यालय तहसम्म ल्याउनका लागि पनि दरैको ठाँटीमै बसेर पठनपाठन शुरु गरेको बुढापाका बताउँछन् ।

दरै समुदायमा अझै पनि शिक्षा लिनुपर्छ भन्ने सोचाइको विकास कम हँुदा शिक्षाको मूलधारसम्म पुग्न नसकिरहेको अवस्था छ । विद्यालयमा भर्ना भएपनि बीचमै कक्षा छाड्ने प्रवृत्ति रहेकाले पनि निश्चित तहसम्म पुग्न सकिरहेका छैनन् ।

रामपुरमा आजभन्दा १५० वर्षअघि देखि बसोबास गर्दै आएको यस समुदायमा पाल्पा जिल्लामै स्नातकोत्तर तहसम्म अध्ययन पूरा गर्न सफल एक मात्र व्यक्ति छमबहादुर दरै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अझै पनि दरै समुदायमा शिक्षालाई बढी प्राथमिकता दिने गरेको पाइँदैन, जसोतसो विद्यालय भर्ना भएपनि बढीमा कक्षा ८ सम्म पढ्ने र त्यसपछि बीचमै विद्यालय छाड्ने धेरै छन् ।”

उच्च शिक्षासम्म दरै समुदायका बालबालिका एकदमै न्यून अवस्थामा पुगेको उहाँले बताउनुभयो । पुरानो ठाँटी भत्किएपछि २०२१ सालमा रामपुरको बेझाड बजारबाट सानिअमराई भन्ने स्थानमा विद्यालय स्थानान्तरण गरियो । २०२२ देखि २०३२ सम्म सानिअमराईमा सञ्चालन भएको विद्यालय २०३३ देखि हालसम्म विजयपुरमा सञ्चालन भइरहेको छ ।

दरैको ठाँटीबाट शुरु भएको विद्यालयमा अहिले उच्च मावि तह र तीनवर्षे सिभिल इन्जिनियरिङ सम्मको कक्षा सञ्चालन भइरहेको छ । सानो गोठजस्तो ठाँटीबाट शुरु भएको विद्यालय अहिले जिल्लामै सामुदायिक विद्यालय तर्फबाट उत्कृष्ट श्रेणीमा नतिजा ल्याउन सफल भएको छ । तर पनि यहाँसम्म दरै समुदायका बालबालिका पुग्न सकिरहेका छैनन् ।

दरै बस्तीदेखि आधा घण्टाको पैदल दूरीमा यो विद्यालय रहेको छ । अहिले दरै बस्ती नजिकै सामुदायिक तथा निजी विद्यालय पनि सञ्चालनमा छन् । यी विद्यालयमा पनि दरै समुदायका बालबालिका न्यून रहेको पाइएको छ । अभिभावकमा अझै पनि बालबालिकालाई नियमित विद्यालय पठाउनुपर्छ भन्ने चेतनाको विकास हुन सकिरहेको छैन ।

अर्कोतर्फ उमेर नपुग्दै विद्यालय पढ्ने उमेरमा विवाह हुनुले पनि बीचमै कक्षा छाड्न बाध्य छन् । दरैको नाममा सञ्चालित विद्यालय रामपुरमै छ तर पनि यो समुदायकै बालबालिका अझै पनि विद्यालयमा नियमित नहुँदा सबैको चासोको विषय बनेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस