धेरै मोटाउने सैनिकको बढुवा रोकियो

शनिबार, १४ भदौ २०७६, १७ : ३३
धेरै मोटाउने सैनिकको बढुवा रोकियो

काठमाडौँ । शरीरको उचाइ र तौलको सन्तुलन नमिलेका कारण नेपाली सेनाका तीन जना अधिकृतको बढुवा रोकिएको छ।
बिएमआई अर्थात् .बडी मास इन्डेकस् अनिवार्य हुनुपर्ने प्रावधान नमिलेपछि उनीहरूको बढुवा रोकिएको हो।

उनीहरू प्रमुख सेनानीबाट महासेनानीमा बढुवा हुनबाट रोकिएको सैनिक  स्रोतले जनाएको छ।  त्यस्तै, ४ जना सैनिक अधिकृतहरू शान्ति सेना जानबाट बञ्चित भएका छन्। उनीहरूमध्ये दुई जना युएन स्टाफ र दुई जना पर्यवेक्षकका रूपमा जान लागेका थिए।


नेपाली सेनामा जवान तथा उच्च अधिकारीहरू मोटाउँदै जानुका साथै भुँडे,अल्छी र अस्वस्थ हुन थालेपछि बिएमआई अनिवार्य गरिएको सेनाले जनाएको छ।

सैनिक जवानदेखि रथीसम्मका उच्च अधिकारीहरूका लागि यो नियम लागू गरिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपटीलाई बताए।

बिएमआई अनुसार फिट रहनका लागि सैनिकको उचाइलाई मिटरमा गणना गरिएको हुन्छ भने शरीरको तौललाई मिटर स्क्वायरले भाग गर्दा १८।५ देखि २४।९ आउनुपर्छ। यो भन्दा कम आएमा पातलो र बढी आएमा मोटो हुने भनिएको छ।

बिएमआई अनिवार्य गरेपछि खानपिन र शारीरिक व्यायाम, अनुशासन कायम हुने सेनाको विश्वास छ।

बडी बिल्डर्स पुरुष सैनिक र विवाहित तथा बच्चा जन्माइसकेका महिला सैनिकको हकमा भने यो प्रावधान केही फरक रहेको छ। यस्ता सैनिकको हकमा उनीहरूको हिप र कम्मरको गोलाई बीचमा सन्तुलन रहनुपर्ने प्रावधान रहेको छ।   

विश्व स्वास्थ्य संगठनले स्वस्थ हुनका लागि बिएमआई फिट हुनुपर्ने उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस