बटुक दल गणलाई रोटरीले दियो वाटर फिल्टर

शनिबार, १४ भदौ २०७६, १५ : ४९
बटुक दल गणलाई रोटरीले दियो वाटर फिल्टर

चितवन । नारायणगढ रोटरी क्लबले वाइन टु वाटर–नेपालको सहयोगमा आज एक कार्यक्रमबीच चितवन राष्ट्रिय निकुञ्जमा अवस्थित बटुक दल गण, कसरालाई वाटर फिल्टर सहयोग गरेको छ । 
कसरामा बटुक दलका गणपति लेफ्टीनेन्ट कर्नेल अरुण श्रेष्ठलाई चार वटा वाटर फिल्टर क्लबका अध्यक्ष सुसनलाल प्रधान एवम् वाइन टु वाटरका प्रोग्राम मेनेजर रोशनी कार्कीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
नेपालमा विभिन्न समयहरूमा घटेका घटनाहरू एवम् विपदका समयहरूमा समस्या समाधान हेतु रोटरी अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२९२, नेपाल–भुटान र नेपाल आर्मीबिच सहकार्य हुँदै आइरहेकोमा श्री बटुक दल गणका विभिन्न टोली सदस्यहरूको स्वास्थ्यलाई मध्येनजर गर्दै स्वस्थ खानेपानीको लागि वाटर फिल्टर हस्तान्तरण गर्न पाएकोमा आपूmलाई खुशी लागेको क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले बताउनुभयो । सामाजिक विकासकासाथै जनसमुदायको स्वास्थ्यमा पनि उत्तीकै चासो राख्दै आएको नारायणगढ रोटरी क्लबले उक्त गणका करिब २५० जनालाई शुद्ध पानी पिउनका लागि व्यवस्था गरिएको अध्यक्ष सुसनलाल प्रधानले जानाकारी दिनुभयो । हाल कसरा क्षेत्रमा शुद्ध पानीको अभाव विद्यमान रहेकोमा नारायणगढ रोटरीले आज प्रदान गरेको चारवटा वाटर फिल्टरको सहयोगको लागि धन्यवाद व्यक्त गर्दै अबका दिनमा गणका सदस्यहरूलाई शुद्ध खानेपानी उपलब्ध हुने र पानीका कारण आगामी दिनहरूमा उनीहरूको स्वास्थ्यमा कुनै खराबी नआउने गणपति अरुण श्रेष्ठले बताउनुभयो । 
वाइन टु वाटर–नेपालले माडी नगरपालिकासँगको सहकार्यमा माडी क्षेत्रको लागि खानेपानी तथा सरसफाईको कार्यक्रम गर्दै आइरहेको वाइन टु वाटर–नेपालका प्रोग्राम मेनेजर रोशनी कार्कीले जानकारी दिनुहुँदै नारायणगढ रोटरी क्लबसँग विगत केही समयदेखि स्वास्थ्यको क्षेत्रमा सहकार्य गर्दै आएको र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो । क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर तथा यस कार्यक्रमका संयोजक इन्जिनियर गुणेश्वर महतोले वाटर फिल्टर जडान प्रविधि र अशुद्ध तथा फोहोर पानीलाई शुद्ध बनाउने तरीका उदाहरण सहित प्रस्तुत गर्नुभएको थियो । 
पूर्वअध्यक्ष रोहितकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा गणका मेजर बलबहादुर गाहा मगर, क्लबका निवर्तमान अध्यक्ष रमेश पौडेल, स्पाउज क्लब अफ आरसी नारायणगढका अध्यक्ष शान्ति उपाध्याय पौडेल लगायत क्लबका पूर्व अध्यक्षहरू विज्ञानलाल श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, नारायण प्रधान, प्रेजिडेन्ट इलेक्ट अनुकूल श्रेष्ठ, द्वितीय उपाध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठ, र सदस्य निवेश श्रेष्ठको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस