मानव सेवा आश्रमलाई महानगरपालिकाको सहयोग

रासस

शुक्रबार, १३ भदौ २०७६, १६ : १९
मानव सेवा आश्रमलाई महानगरपालिकाको सहयोग

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी सडक मानवको व्यवस्थापनका लागि खरीद गरिएको सवारीसाधन मानव सेवा आश्रमलाई हस्तान्तरण गरेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले आज राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सवारी साधनको साँचो हस्तान्तरण गर्नुभएको हो ।  

    प्रमुख शाक्यले महानगरको सडकलाई सहयोगापेक्षी सडक मानव मुक्त नगरी ‘स्मार्ट’ सिटीको अवधारणा सार्थक नहुने बताउनुभयो । कामपाले निजी सार्वजनिक साझेदारीमार्फत नै विभिन्न योजना अघि सारेको उहाँले बताउनुभयो । कामपाले साझासँगको सहकार्यमा बस सञ्चालन गरिरहेको र विभिन्न संस्थासँगको सहकार्यमा यो वर्ष १० एम्बुलेन्स हस्तान्तरण गरेको छ । उहाँले भन्नुभयो, “सहयोगापेक्षी सडक मानव हटाउनका लागि पनि साझेदारीमा नै अघि बढेका छौँ ।”

    महानगरका उपप्रमुख हरिप्रभा खड्गीले विकास भनेको जादुको छडी नभएको बताउनुभयो । कामपाले आश्रमका लागि भाडाबापत रकम छुट्याएको र भवन निर्माणका लागि आवश्यक रकम उपलब्ध गराउने उहाँले बताउनुभयो ।

    अध्यक्ष अधिकारीले संस्थाले सहयोगापेक्षी सडक मानवमुक्त देश घोषणाका लागि स्थानीय सरकारसँगको सहकार्यमा काम गरिरहेको बताउनुभयो । संस्थाले विसं २०८२ सम्ममा शारीरिक तथा मानसिकरुपमा अस्वस्थ भई खुला आकाशमुनि रात बिताउन बाध्य सहयोगापेक्षी मानवरहित राष्ट्र घोषणा गर्न लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि हामीले सडकबाट उद्धार गरेकालाई सामाखुशी, बूढानीलकण्ठ र सातै प्रदेशमा रहेका आश्रममा आश्रय दिइरहेका छौँ ।”

    संस्थाका १३ जिल्लामा १५ वटा मानव सेवा आश्रम रहेका छन् । आश्रमले सडकबाट उद्धार गरेर ६५० जनालाई परिवारसँग पुनःमिलन गराइसकेको छ भने हाल झण्डै ८०० जना सेवा लिइरहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस