भरतपुर महानगरको संस्थागत सुधार योजना, अब प्रत्येक वडामा सानो पुस्तकालय

बुधबार, ११ भदौ २०७६, १६ : ५३
भरतपुर महानगरको संस्थागत सुधार योजना, अब प्रत्येक वडामा सानो पुस्तकालय

चितवन । भरतपुर महानगरपालिकाले १८ बुँदे संस्थागत सुधार कार्ययोजना तयार पारेको छ । महानगरपालिका प्रमुख रेनु दाहालले कार्ययोजना भदौ २० गतेसम्म सम्पन्न गरिसक्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । महानगरको संस्थागत सुधार कार्ययोजनामा प्रत्येक वडामा सानो पुस्तकालय अनिवार्य हुनुपर्ने बताइएको छ । जसको समन्वय र जिम्मेवारी शैक्षिक प्रशासन महाशाखाले गर्ने भएको छ ।

कार्ययोजनामा समय पालनाअन्तर्गत आकस्मिक रुपमा हाजिरी जाँच गर्ने, डिजिटल हाजिरीको व्यवस्था अनिवार्य हुनुपर्ने, बाहिर जानुपर्दा लगबुकमा अनिवार्य लेखिनुपर्ने, सूचना नदिई गयल हुने कर्मचारीको तलबसमेत काटिने जनाइएको छ । 
कर्मचारीलाई युनिफर्म र परिचयपत्र अनिवार्य प्रयोग गर्न कार्ययोजना बनाइएको महानगर प्रमुख दाहालले बताउनुभयो । 

कार्ययोजनासहितको कार्यसम्पादन करार, कार्यालय भवन व्यवस्थापन  र निजी सचिवालय सुधारमा पनि महानगरले कार्ययोजना बनाएको छ । कार्यालयले गरेका कार्यहरुको अपडेट नियमित सार्वजनिक गर्ने, राजश्व, आम्दानीको मुख्य हिसाब सफ्टवेयरबाट सीधा डिस्प्लेबाट देखाउन मिल्ने गरी कार्ययोजना तयार पार्न सम्बन्धित निकायलाई निर्देशन दिइएको महानगर प्रमुख दाहालले बताउनुभयो । गौरवका योजनाको लोकेसनसहितको म्याप तयार पार्न पनि महानगरले कार्ययोजना बनाएको छ ।

१५ दिनमा १ दिन विहान कार्यालय परिसर सरसफाई कार्यक्रम राख्ने, ३ महिनामा एकपल्ट विदाको दिन कार्यालयको कार्पेट धुनेदेखि सबै सरसफाई गर्ने महानगरको कार्ययोजनामा छ ।  निकुन्जसंग समन्वय गरी प्राकृतिक दृश्यसहितका तस्वीरहरु सबैतिर राख्ने, पर्याप्त गमलाहरु राखेर कार्यालय भित्र हरियाली व्यवस्थित गर्ने, सभाहलमा वर्तमान मेयर तथा पूर्व मेयरहरुको तस्वीर राख्ने पनि कार्ययोजना बनाइएको छ । 

महानगरको वेबसाइट आकर्षक बनाउने, सूचनाहरु नियमित रूपमा अपडेट गर्ने, वेबसाइटमा सामाजिक संजालका सूचनाहरु पनि लिंक तथा अपडेट गर्ने,महानगरपालिका कार्यालय तथा सेवा केन्द्र भएका वडाहरुमा राख्ने तीन स्थानमा एकीकृत सेवा केन्द्र स्थापना तथा संचालन गर्ने, गुन्जनगर वडा २०  गीतानगर, वडा ६ मंगलपुर वडा १६ सेवा केन्द्रमा जनशक्ति व्यवस्थापन गनेर्न महानगरको कार्ययोजना छ । महानगरपालिकालाई शून्य बेरुजु कार्यालयका रूपमा विकास गर्ने पनि कार्ययोजना बनाइएको महानगर प्रमुख दाहालले बताउनुभयो । 

औंल्याइएको बेरुजु फर्छ्यौट गर्नका लागि एक समिति गठन गर्ने र त्यसले साताको एकचोटी बेरुजुमाथि दफावार छलफल गर्दै निर्णय गर्दै जाने कार्ययोजना छ । 

प्रतिक्रिया दिनुहोस