नीतिगत विषयमा पार्टीमा आलोचना गर्न पाइन्छ : प्रवक्ता

सफल खबर संवाददाता

बुधबार, ११ भदौ २०७६, ०८ : ०५
नीतिगत विषयमा पार्टीमा आलोचना गर्न पाइन्छ : प्रवक्ता

काठमाडौं । पार्टी नेताका विरुद्धमा सार्वजनिक आलोचना गर्न रोक लगाएको नेकपाको निर्णयपछि चौतर्फी क्रिया–प्रतिक्रिया आईरहेका छन् । पार्टी बैठक बस्दैनन्, नेताहरुले बैठकमा कुरा राख्न नपाएपछि सार्वजनिक सञ्चारमाध्यममार्फत आफ्ना कुरा राख्न खोज्छन ।

यस्तो बेला सार्वजनिक टिप्पणी गर्नबाट रोक लगाउने भनेको पार्टी भित्रको आन्तरिक जनवाद कमजोर बनाउने हर्कत हो भन्दै नेकपाका नेताहरुनै आलोचनामा उत्रिन थालेपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी निर्णयका बारेमा थप प्रष्टता पारेका छन् ।

निर्णयको अन्त्यमा पुग्दै नपुगि गरिएको टिप्पणीको खास अर्थ नहुने भन्दै नेकपाका प्रचार विभाग प्रमुख समेत रहेका प्रवक्ता श्रेष्ठले नीतिगत विषयमा आलोचना गर्न पाउने छुट सबैलाई भएको बताएका छन् ।

उनले सामाजिक सन्जालमै लेखेर यस विषयमा आफनो धारणा प्रष्टाएका छन् ।  श्रेष्ठले वैचारिक र नीतिगत विषयमा सार्वजनिक छलफल वा आलोचनात्मक टिप्पणी गर्न सकिने बताएका हुन् ।

सोमबार अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले पार्टीको नेता, कार्यकर्ता वा अन्य सदस्यहरुको बारेमा पार्टीको केन्द्रदेखि तलसम्मका कुनै सदस्यहरुले कुनै कुरा व्यक्तिगत रुपमा उठाउनुपरेमा पार्टीभित्रै उठाउनुपर्ने निर्णय गरेको थियो ।
पार्टीभित्र कुरा नराखी सार्वजनिक रुपमा लगिएमा स्पष्टीकरणको प्रक्रिया अगाडि बढाउँदै आवश्यक कारबाही गरिने निर्णय त्यो बैठकले गरेको बैठकपछि प्रवक्ता श्रेष्ठले बताएका थिए ।

तर यसको बुझाईमा अन्तर देखिएको भन्दै श्रेष्ठले यस विषयको बुझाईमा प्रष्ट पार्न खोजेका हुन् । उनले सामाजिक सन्जाल ट्वीटरमार्फत यस विषयमा प्रष्टोक्ति दिएका छन् । उनले पार्टीको निर्णयलाई सही रुपमा बुझ्न आग्रह पनि गरेका छन् ।

‘कुनै पनि कमरेडको व्यक्तिगत टिकाटिप्पणी सार्बजनिक रुपमा नगरौं । नेताहरुलाई मात्र छुट होइन’, उनले लेखेका छन्, ’पार्टीभित्र गरौं ।’

दोस्रो ट्वीटमा श्रेष्ठले पार्टी कमरेडहरुले पनि पार्टी र सरकारबारे आलोचनात्मक टिप्पणी गर्न पाइने बताएका छन् । ‘पाइन्छ मात्र होइन, गर्नुपर्छ’, उनले भनेका छन्, –‘त्यसले पार्टी र सरकारलाई सही दिशामा लैजान मदत गर्छ । आम जनताको निम्ति त यो अधिकार सुनिश्चित नै छ । खालि पार्टीकाले व्यक्तिगत टिप्पणी भित्रै गरौं भनिएको हो ।’

नेकपामा नेताहरुलाई लक्षित गर्दै ब्यक्तिगत आलोचना हुन थालेपछि भने त्यसलाई रोक्नका लागि भने यस्तो निर्णय गरेको प्रवक्ता श्रेष्ठको भनाइृ छ ।

खासगरी नेकपाका केन्द्रीय सदस्य सूर्य थापा, मेटमणि चौधरी, भीम रावल, रामप्रसाद सापकोटा, राजेन्द्र गौतम लगायत नेताहरुले नेतृत्वका विषयमा ब्यक्तिगत आलोचनामा रहेर टिप्पणी गरेको भन्दै पार्टी आलोचना भएको थियो । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालका वीचमा त अझ राजेन्द्र गौतमले लेखेको सामाजिक सन्जालको टिप्पणी र बुधबार साप्ताहिकले ओली र राष्ट्रपतिका विरुद्दमा लेखेको समाचारका विषयमा चर्काचर्की पर्दा बैठक नै प्रभावित हुन पुगेको थियो ।

नेताहरुमा अनुशासन हिनता बढेपछि अध्यक्ष प्रचण्डले नेताहरुको बोलीमाथीको लगाव लगाउनका लागि त्यस्तो निर्णय गराएका थिए ।
 

प्रतिक्रिया दिनुहोस