भारतीय ब्याण्डले गायो रेशम फिरिरि

बुधबार, १७ माघ २०७४, २१ : १९
भारतीय ब्याण्डले गायो रेशम फिरिरि

भरतपुर । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त भारतीय ब्याण्ड रिषि इंकले बुधबार भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरियम हलमा आफ्नो प्रस्तुतिका क्रममा चर्चित नेपाली गीत रेशम फिरिरि गाएर उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिएको छ ।

भारतको ६९औँ गणतन्त्र दिवस मनाउने क्रममा भारतीय महावाणिज्य दूतावासले रोनिक पाठक मेमोरियल ट्रष्ट नेपालसँग मिलेर भरतपुरमा रिषि इंक ब्याण्डलाई प्रस्तुत गरेको हो । ब्याण्डको कन्सर्टलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

कन्सर्टअघि आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै भारतीय महावाणिज्यदूत बीसी प्रधानले नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीको सन्देश पढेर सुनाउनु भएको थियो । ट्रष्टका अध्यक्ष डा. जेबी पाठकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महावाणिज्यदूतावास वीरगञ्जका वाणिज्यदूत राजेश कुमारले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

ब्याण्डका गायक सन्ता सिंहले कन्सर्टमा चर्चित भारतीय गीत प्रस्तुत गरेका थिए । किबोर्डमा टिम लिडर टिसी दत्ता, ड्रममा गौतम मेनन्, बाँसुरीमा रितेश प्रसन्ना, बेस गिटारमा अनुग्रह पाण्डे र तबलामा तरित पालले साथ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस